तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा दान पेटिका खोलियो

रुपन्देही । लुम्बिनीको प्रमुख आम्दानीको श्रोत मानिने दान पेटिका तीन महिनापछि आइतबार खोलिएको छ ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) को नेतृत्वमा सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दान पेटिका खोलिएको हो । दान पेटिकामा सङ्कलित रकमलाई पारदर्शी बनाउन सिसिटिभी क्यामेरा जडान गरी गणना सुरु गरिएको छ ।

लुम्बिनी भ्रमणमा आएका पर्यटकहरूले पवित्र हृदयले गरेको दानलाई लुम्बिनीको विकासमा लगाउने गरी दान पेटिका सबै पक्षको रोहवरमा खोलिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो । उहाँले आफूले कोषाध्यक्ष पद समालेदेखि सङ्कलित दान पारदर्शी बनाउने र यसको सदुपयोग भएको सन्देश दिन सञ्चारकर्मीलाई समेत बोलाएर गणना थालिएको बताउनुभयो । उहाँका अनुसार आइतबार एउटा मात्रै दान पेटिका खोलिएको छ । चार वटा दान पेटिका खोलेर सङ्कलित दानको गणना गर्न ४ दिनसम्म लाग्ने कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

विगतमा दान पेटिका चोरी हुने गरेको घटना समेत बाहिरिएको थियो । तर, अहिले लुम्बिनी क्षेत्रको सुरक्षा व्यवस्था समेत चुस्त पारिएकाले चोरी हुने समस्या नरहेको लुम्बिनीका सुरक्षा अधिकृत खगेन्द्र काफ्लेले बताउनुभयो । उहाँले दान पेटिकाको हरेक दिनको मुचुल्का उठाएर सङ्कलित रकम तुरुन्तै बैङ्कका दाखिला गर्ने गरिएको बताउनुभयो ।

राजस्व शाखा, लुम्बिनी सुरक्षा प्रतिनिधि, नेपाल प्रहरी, दङ्गा प्रहरी बल, सशस्त्र प्रहरी र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रतिनिधिहरूको उपस्थितिमा दान पेटिका खोलिएको हो । यसअघि २०७८ चैत १८ गते दान पेटिका खोलिएको थियो । १५/१५ दिनमा दान पेटिका खोल्नुपर्ने भए पनि दान पेटिका भरिएपछि मात्रै खोल्ने गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष भट्टराईले बताउनुभयो ।

अघिल्लो पटक दान पेटिकामा ३७ लाख सङ्कलन भएको थियो । लुम्बिनीमा प्रमुख आम्दानीको श्रोतका रुपमा दानलाई लिने गरिएको छ । आन्तरिक आम्दानीबाटै कर्मचारी र अन्य व्यवस्थापन गर्दै आएको कोषले जनाएको छ । कोभिडपछि भने दान पेटिका लामो समयसम्म खाली हुने गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आएपछि भने भारतीय पर्यटकको आवागमन वृद्धि भएको कोषले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button