तपाईँ सुन्दै हुनुहुन्छः

नुवाकोटे टाइगरले जिते रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि

झापा । झापाको केरखामा शनिबार सम्पन्न चौथो राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । उनले प्रतिद्वन्द्वी डेविडलाई लक लगाउँदै उपाधि जितेका हुन् । टाइगरले ह्याभी वेटतर्फ डेविडलाई हराएका हुन् ।

टाइगरले उपाधिसँगै नगद एक लाख २५ हजार रुपैयाँ प्राप्त गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा टाइगरले डेविडमाथि धेरै पटक सशक्त प्रहार गरेका थिए ।

प्रतियोगिताको हार्ड कोरतर्फको उपाधि डेविडले जिते । उनले उपाधिसहित नगद एक लाख रुपैयाँ प्राप्त गरे । डेविडले चट्टानलाई हराउँदै उपाधि जितेका हुन् ।

ट्याग टिम म्याचमा टुप्पी ग्याङ संयुक्त रुपमा विजेता बन्यो । उपाधिसहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे । उनीहरूले स्पाइडर म्यानको जोडीलाई हराएका थिए ।

मिडल वेट म्याचको च्याम्पियन साइन बने । बाकालाई हराउँदै उपाधि जितेका साइनले ९५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला म्याचको विजेता आकृति बनिन् । उनले ७० हजार रुपैयाँ जितिन् । आकृतिले तनुलाई हराएकी थिइन् ।

लाइट वेट म्याचतर्फ सुजल रिलामी विजेता बने । सिजे वर्ल्डलाई हराएका उनले ६० हजार रुपैयाँ प्राप्त गरे । नेपाल रिङ रेस्लिङ सङ्घले संयोजन गरेको प्रतियोगिता १ नम्बर प्रदेशमा पहिलो पटक आयोजना गरिएको हो ।

विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरूबिच भएको प्रतियोगिता ७१ औँ मदन भण्डारी जयन्तीका अवसरमा आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button