तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानको जयतपानीमा स्याउ पाकेर राताम्मे (फोटोफिचर)

सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीको डाँडा स्याउ पाकेर रङ्गिएको छ । 

प्रत्येक वर्षजस्तै यस वर्ष पनि जयतपानीको डाँडामा लगाइएका स्याउका रुखमा हाँगै भाँचिने गरी लटरम्म स्याउ फलेका छन् । स्याउ पाकेपछि रुख नै राताम्मे भएका छन् । 

स्याउ पाकेसँगै बारीबाटै स्याउ किन्नेको भिड लाग्न थालेको छ । दैनिक एक सय देखि दुई सय जनासम्म स्याउ बगैँचामा घुम्न आउने गरेको शिशिर थापाले बताउनुभयो । उहाँले भन्नु भयो ‘नयाँ जातको स्याउ भएकाले हेर्न पनि आउँछन्, स्वाद लिन पनि’

विगत ५ वर्षदेखि व्यावसायिक स्याउ खेती गर्दै आउनुभएका उहाँले स्याउको बगैँचाकै कारण जयतपानी पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहेको बताउनुभयो । बजारीकरणको समस्या भन्दा पनि आन्तरिक तथा बाह्य पर्यटकलाई नै स्याउ पुर्‍याउन गाह्रो भइरहेको उहाँको भनाई छ । 

स्याउ उत्पादनका लागि राम्रो स्थान भएकाले सरोकारवालाले पनि ध्यान दिन सके यसको विस्तार गर्न सहज हुने लोकेन्द्र बुढाथोकीले बताउनुभयो । 

स्याउको बगैँचा हेर्न स्थानीय बजार, खलङ्गा, श्रीनगर, बाबियाचौर, सल्ली बजारबाट आउने गरेको उहाँको भनाई छ । स्याउको बगैँचा हेर्न आएका मानिसहरूले बोटबाटै किनेर लिने गरेको उहाँ बताउनुहुन्छ ।

स्याउ खेतीका लागि जयतपानी, बुराँसे, चिनाली लगायतका क्षेत्र राम्रो सम्भावना रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । 

जिल्लामा ४२ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिनुभयो । गत वर्ष जिल्लामा ४ सय १० मेट्रिक टन स्याउ उत्पादन भएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button