तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीहरूलाई असार २१ गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले कोभिड–१९ पछि चीनबाट फर्किएका नेपाली विद्यार्थीहरूलाई पर्सी असार २१ गतेदेखि अध्ययनका लागि पुनः चीन पठाउने तयारी भएको जनाएको छ । 

मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पर्सिदेखि दुई सय ८१ जना विद्यार्थीलाई अध्ययनका लागि पुन चीन पठाइने र त्यसपछि बाँकी विद्यार्थीलाई पनि पठाउनका लागि पहल भइरहेको जानकारी दिनुभयो । 

प्रवक्ता लम्सालले चिनिया दूतावासको समन्वय र सहकार्यबाट नेपालबाट अध्ययनका लागि चीन फर्काउनुपर्ने सम्पर्कमा रहेका सबै ८ सय ५० जनालाई नै पठाउने गरी मन्त्रालयले काम गरिरहेको बताउनुभयो । 

प्रवक्ता लम्सालले भूतपूर्व गोर्खा सैनिकहरूको समस्या र मागका सम्बन्धमा नेपाल सरकारले उच्च प्राथमिकताका साथ कुरा उठाइरहेको र त्यस विषयमा सम्बोधन गर्नका लागि नेपाल र बेलायतबीच दुई पक्षीय वार्ता गर्ने सहमति पनि भइसकेको बताउनुभयो । 

उहाँले त्यस विषयमा हाल प्रारम्भिक छलफल सुरु भएको र पूर्व गोर्खा सैनिकका प्रतिनिधिहरूको सहभागितामा उनीहरूका माग सम्बोधन गराउन लण्डनस्थित नेपाली दूतावास लागि रहेको बताउनुभयो । 

ई–पासपोर्ट वितरणलाई राहदानी विभागले प्रभावकारी बनाउँदै गइरहेको जानकारी दिनुहुँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता लम्सालले हाल प्रत्येक दिन २ हजार ४ सय जनाले अनलाइनमार्फत फारम भर्न सक्ने व्यवस्था मिलाइएको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button