२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना विरुद्धको पहिलो खोप लगाउनेको सङ्ख्या लक्ष्यभन्दा धेरै

नवीन गिरी २०७९ असार १९ गते १५:१९
सांकेतिक तस्बिर

नेपालगञ्ज । बाँकेमा हालसम्म ४ लाख ८१ हजार ८३३ जनाले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् । यो लक्ष्यभन्दा १ दशमलव २ प्रतिशतले बढी हो । 

बाहिरी जिल्लाबाट आएका व्यक्तिहरूले समेत खोप लगाएका कारण लक्ष्यभन्दा बढीले जिल्लामा खोप लगाएको देखिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै दोस्रो डोज खोप लगाउनेको सङ्ख्या ३ लाख ८५ हजार ८ सय ९२ जना छ । खोपको मात्रा पूरा गर्ने अर्थात् दोस्रो डोज लगाउने ८१ दशमलव १ प्रतिशत रहेको उहाँको भनाई छ । बुष्टर डोज लगाउनेको सङ्ख्या भने जिल्लामा निकै कम छन् ।

बुष्टर डोज लगाउनेको सङ्ख्या एक लाख ७ हजार ३ सय ६ रहेको छ । प्रतिशतका हिसाबले यो २२ दशमलव ५ हो । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकामा सत प्रतिशतले कोरोना विरुद्धको पहिलो डोज खोप लगाएका छन् ।

सबैभन्दा कम खोप लगाउनेमा नरैनापुर र जानकी गाउँपालिका रहेका छन् । यी पालिकामा पहिलो डोज खोप लगाउने ८० प्रतिशतको हाराहारीमा छन् । बैजनाथ, राप्तीसोनारी र डुडुवा गाउँपालिकामा ९० प्रतिशत बढीले कोरोना विरुद्धको पहिलो खोप लगाउँदै छन् ।

यसैबीच स्वास्थ्य कार्यालय बाँकेले बाँकेका आठ वटै पालिकाका ८१ वटै वडामा यही भोलिदेखि कोरोना विरुद्धको खोपको दोस्रो डोज र बुष्टर डोज लगाउने भएको छ ।

१८ वर्षमाथिका नागरिकलाई लक्षित गरेर असार २० देखि २२ गतेसम्म नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाउन लागिएको हो ।

यस्तै असार २४ देखि २६ गतेसम्म बैजनाथ, डुडुवा, राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा खोप लगाउने तयारी गरिएको छ ।

सम्बन्धित