तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियन महाधिवेशनलाई हेटौँडामा सचिवालय स्थापना

बागमती । नेपाल प्रेस युनियनको बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो साउन ६ र ७ गते हुने नवौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिइएको छ । महाधिवेशन तयारीका लागि हेटौँडामा सचिवालय स्थापना गरिएको छ । 

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले सो सचिवालयको उद्घाटन गर्दै महाधिवेशनमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा युनियनका अध्यक्ष बद्री सिग्देलले युनियनको  महाधिवेशनमा अधिराज्यभरिका करिब एक हजार ५००  प्रतिनिधि र अतिथिको सहभागिता रहने बताउनुभयो । महाधिवेशनको तयारीका लागि केन्द्रीय तथा स्थानीय समिति गठन भइसकेको जनाइएको छ । 

युनियनका अध्यक्ष बद्री सिग्देलको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । महाधिवेशन सम्पन्न गर्न युनियनले केन्द्रीय सदस्य एवं बागमती प्रदेश संयोजक राममणि दाहालको संयोजकत्वमा स्थानीय समिति बनाएको छ ।

सह संयोजकमा केन्द्रीय सदस्य गिरिजा अधिकारी, आवास व्यवस्थापन समिति संयोजकमा सुजन विडारी, पोष्टराज अधिकारीको संयोजकत्वमा सचिवालय व्यवस्थापन र प्रचारप्रसारको जिम्मेवारी केशव समर्पणलाई दिइएको छ । 

त्यस्तै मूल आयोजक स्वागत सत्कार समितिको संयोजकमा  युनियनका उपाध्यक्ष ईश्वरी ओझा र विधान मस्यौदा संशोधन समितिको संयोजकमा वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, प्रतिनिधि व्यवस्थापनको जिम्मेवारी कार्यवाहक महासचिव भीष्मराज ओझा तथा कोषाध्यक्ष  सरोज अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन  समिति गठन गरिएको छ ।

साथै अधिवक्ता तेज रावलको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको बताइएको छ । सो महाधिवेशनको  प्रधानमन्त्री एवं नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको युनियनले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button