२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा स्पोर्टस् अवार्ड : प्रदीप र अरुणा वर्ष खेलाडी घोषित

गौरव त्रिपाठी २०७९ असार १९ गते १४:०८

कास्की । प्रदीप खड्का र अरुणा शाही छैटौँ पोखरा स्पोर्टस् अवार्ड, २०७८ मा वर्ष खेलाडी घोषित भएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशले शनिबार पोखरामा आयोजना गरेको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुषमा टेनिसका प्रदीप खड्का र वर्ष सर्वोत्कृष्ट खेलाडी महिलामा भलिबलकी अरुणा शाही घोषित भएका हुन् । वर्ष सर्वोत्कृष्ट खेलाडी विधामा प्रदीपले विधान अधिकारी (ब्याडमिन्टन) र बुद्ध लामा (कराँते) लाई पछि पार्दै अवार्ड जिते ।

सोही विधाको महिलातर्फ नेपाली भलिबल टिमका राष्ट्रिय कप्तानसमेत रहेकी शाहीले मनीषा उपाध्याय (क्रिकेट) र सरगम कुमाल (कराँते)लाई पछि पार्दै अवार्ड जितेकी हुन् । अवार्ड विजेता खड्का र शाही  दुवै जनाले एक–एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरेका छन् । 

यस्तै लाइफटाइम अचिभमेन्ट अवार्डबाट गणेश बहादुर भट्टराईलाई सम्मान गरियो । पाकिस्तानमा भएको चौथो दक्षिण एशियाली खेलकुदमा रजत पदक विजेता समेत रहेका पोखराको ड्यामसाइड निवासी भट्टराईको नेपालको खेल क्षेत्रको विकासमा ठूलो योगदान रहेको छ । 

कार्यक्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, मञ्चका अध्यक्ष बराललगायतले भट्टराईलाई लाइफटाइम अचिभमेन्ट अवार्डका साथमा चाँदीको करुवा, ताम्रपत्र र दोसल्ला लगाएर सम्मान गरेका थिए ।

यस्तै कार्यक्रममा वर्ष उत्कृष्ट उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठले अवार्ड जितेका छन् । उनले सृष्टि जैशी (क्रिकेट) र शाहिल लिम्बु (बक्सिङ) उछिन्दै अवार्ड जितेका हुन् ।  यस्तै वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका नीरज थापाले अवार्ड जिते । उनले रिजन प्रजु (क्रिकेट) र रेकमाया गुरुङ (तेक्वान्दो)लाई पछि पार्दै अवार्ड जितेका हुन् । अवार्ड विजेता थापा वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष प्रदीप खड्का र उदीयमान उत्कृष्ट वर्ष खेलाडी दर्शिल श्रेष्ठका गुरुङ हुन् ।

वर्ष उत्कृष्ट खेल सङ्घबाट तेक्वान्दो सङ्घ गण्डकी प्रदेश सम्मानित भएको छ । त्यस्तै, वर्ष उत्कृष्ट खेल पत्रकारको अवार्ड कान्तिपुरकर्मी दीपक परियारले प्राप्त गरे । अवार्ड विजेता उत्कृष्ट वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकारलाई ट्रफीसंगै नगद ३५/३५ हजार र सम्मान पत्र प्रदान गरियो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख आतिथ्यमा भएको समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री पोखरेलले खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित अवार्ड समारोहको महत्त्वबारे प्रकाश पार्दै सरकारले खेल क्षेत्रमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । 

मञ्चले २०७२ सालदेखि पोखरामा निरन्तर स्पोट्र्स अवार्ड कार्यक्रम गर्दै आएको छ । 

सम्बन्धित