तपाईँ सुन्दै हुनुहुन्छः

विज्ञापन क्षेत्रलाई मर्यादित बनाउन आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्छ  : मन्त्री कार्की

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन क्षेत्रलाई स्वस्थ र मर्यादित बनाउन विज्ञापन आचारसंहिताको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ ।

विज्ञापन बोर्डद्वारा जारी विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारण सम्बन्धी आचारसंहिताको आज काठमाडौँमा लोकार्पण गर्नुहुँदै मन्त्री कार्कीले समस्या नीति निर्माणमा नभई कार्यान्वयनमा रहेको उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले विज्ञापन क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्दै समाजलाई समेत लाभान्वित गर्न सकेमा मात्र आचारसंहिता जारी गर्नुको औचित्य पुष्टि हुने बताउनुभयो ।

मन्त्री कार्कीले आचारसंहिता कार्यान्वयनमा हुन सक्ने अस्पष्टता र जटिलता न्यूनीकरणका लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा.वैकुण्ठ अर्यालले विज्ञापन व्यवसायलाई स्वच्छ, पारदर्शी र प्रतिस्पर्धी बनाउन जारी आचारसंहिता फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले आचारसंहिता निर्माणका क्रममा सरोकारवाला निकायसँग व्यापक छलफल गरिएको भन्नुहुँदै यसको कार्यान्वयनमा सबैको साथ सहयोग मिल्ने अपेक्षा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button