२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

छड्के अनुगमनमा सुर्खेत मालपोतका ७ कर्मचारी अनुपस्थित

आकाश तारा बयक २०७९ असार १८ गते २१:२८

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले गरेको छड्के अनुगमनका क्रममा मालपोत कार्यालयका ७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको छ । 

सेवाग्राहीले कार्यालय समयमा कर्मचारी नआउने गरेको गुनासो गरेपछि प्रशासन कार्यालयले शुक्रवार गरेको छड्के अनुगमनका क्रममा मालपोत कार्यालयका ७ जना कर्मचारी अनुपस्थित रहेको पाइएको हो । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले नागरिकसँग प्रत्यक्ष सम्बन्ध जोडिएका बढी भिडभाड हुने मालपोत जस्ता कार्यालयका कर्मचारी कार्यालय समयमा नआउँदा सेवाग्राहीले अनाहकमा सास्ती भोग्नु परिरहेकाले अनुगमनलाई थप निरन्तरता दिइने बताउनुभयो । 

उहाँका अनुसार गयल कट्टी हुने कर्मचारीको गयल बराबरको सेवा अवधि कम हुने नियम रहेको छ । अनुगमनमा मालपोत कार्यालयका कुल ३३ जना कर्मचारीमध्ये ७ जना अनुपस्थित रहेको पाइएको थियो । 

अनुगमनमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डे, सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्ट,  प्रशासकीय  अधिकृत पदमलाल लामिछाने, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनाल, नागरिक अगुवा पीताम्बर ढकाल, राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारी र पत्रकार लगायतको सहभागिता थियो । 

सम्बन्धित