तपाईँ सुन्दै हुनुहुन्छः

‘कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा’

काठमाडौँ । सरकारले प्रत्येक वर्ष फेर्ने कर नीतिका कारण स्वदेशी उत्पादनमूलक उद्योगहरू समस्यामा पर्ने गरेको अर्थशास्त्री तथा उद्योगी व्यवसायीहरूले बताउनुभएको छ ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको परिवर्तित राजस्व नीतिको उपभोक्तामा प्रभाव विषयक अन्तरक्रियाका वक्ताहरूले अस्थिर नीतिका कारण उत्पादनमूलक उद्योग समस्यामा परेको बताउनुभएको हो ।

कार्यक्रममा सहभागीहरूले सरकारले उद्योग प्रोत्साहन गर्ने नारासहित लिएका कर नीतिका कारण उद्योग समस्यामा पर्नुका साथै उपभोक्ताले समेत राहत पाउन नसकेको बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले सरकारले गत वर्षको प्रतिस्थापन बजेटमार्फत लिएको कर नीतिले उद्योगीलाई समस्या पर्नुका साथै उपभोक्ताले पनि लाभ लिन नसकेको बताउनुभयो ।

उद्योगी किरण शाखले स्पञ्ज आइरनबाट विलेट बनाउने उद्योगहरूलाई संरक्षण गर्ने सरकारी नीतिले २० वटा उद्योग सङ्कटमा परेको र त्यस्ता उद्योग ३ प्रतिशत क्षमतामा मात्रै चलिरहेको बताउनुभयो ।

त्यसै गरी स्यानीटरी उद्योगी डोलराज अधिकारीले आगामी वर्षको कर नीतिका कारण विदेशबाट आउने तयारी वस्तुमा सरकारले ९० प्रतिशत छुट दिने नीतिले नेपालका उद्योग फस्टाउन नसक्ने र भएका उद्योग पनि टिक्न नसक्ने स्थितिमा पुगेको उल्लेख गर्नुभयो ।

यसैगरी, व्यवसायी मीन गुरुङले सरकारको नीतिका कारण स्टिल उद्योग समस्यामा परेको बताउँदै भाटभटेनीका डिपार्टमेन्टल स्टोरहरूमा नेपाली उत्पादनलाई प्राथमिकता दिएको बताउनुभयो ।

कार्यक्रममा अर्थशास्त्री डा. चन्द्रमणि अधिकारीले नेपालको कर नीति प्रत्येक ६/६ महिनामा फेरिँदा लगानीको अनिश्चितता हुने भन्दै सरकारै पिच्छे परिवर्तन हुने कर नीतिलाई व्यवस्थित र स्थिर बनाउनु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button