तपाईँ सुन्दै हुनुहुन्छः

सूचनाको हक र सकारात्मक सोच विषयक अन्तरक्रिया

भक्तपुर । भक्तपुरमा सूचनाको हक र सकारात्मक सोच विषयक एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 

राष्ट्रिय सञ्चार केन्द्रको आयोजना र सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको कार्यक्रममा सूचना आयोगका पूर्व आयुक्त किरण पोखरेलले सूचनाको हकको सम्बन्धमा प्रस्तुति गर्दै सूचनाका हक अन्तर्गत सूचना माग्ने र पाउने अधिकार मात्रै नपर्ने बताउनुभयो ।

यो हकलाई अध्ययन गर्ने र सकारात्मक रूपले ग्रहण गर्नसक्ने अवस्थामा मात्रै यसको वास्तविक रुपमा उपलब्धि देखिने बताउनुभयो ।

कार्यक्रममा सकारात्मक सोच सम्बन्धी विषयमा रमण भट्टराई नेपालीले प्रस्तुति गर्दै सकारात्मक सोचाइका लागि शरीर र मन दुवैबाट सकारात्मक ऊर्जा सिर्जना गर्नुपर्ने बताउनुभयो । 

कुनै पनि व्यक्तिले प्रत्येक दिन सकारात्मक क्रियाकलाप र व्यवहारलाई निरन्तरता दिने हो भने त्यस्तो व्यवहार बानीको रुपमा परिणत हुने उल्लेख गर्दै उहाँले यसले दिगो रुपमा सकारात्मकताको विकास गर्ने बताउनुभयो । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूचनाको हक कार्यान्वयनमा नगरपालिका यसअघिदेखि नै प्रतिबद्ध रहेको र यो निरन्तर रहने बताउनुभयो । 

उहाँले सूचनाको हकसँगै जोडिएर आएको सकारात्मक सोच विषयक प्रस्तुतिले सकारात्मक ढङ्गबाट सूचनाको आदानप्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । 

राष्ट्रिय सञ्चार केन्द्रका अध्यक्ष पेशल आचार्यले केन्द्रले सञ्चारकर्मीको व्यावसायिक क्षमता विकासमा काम गरिरहेको उल्लेख गर्दै त्यसैको निरन्तरता स्वरूप कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रममा मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईले पनि सकारात्मक सोच र मानव कल्याण समाजका बारेमा चर्चा गर्नुभयो ।

कार्यक्रममा पत्रकार, स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारी समेत गरी करिब ७० जना सहभागी भएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button