तपाईँ सुन्दै हुनुहुन्छः

बेनी नगरपालिकाको सबै वडाको भवन

म्याग्दी। म्याग्दीको बेनी नगरपालिकाको सबै वडा कार्यालयको आफ्नै भवन निर्माण भएको छ । चारवटा नयाँ भवन निर्माण भएसँगै बेनी नगरपालिकाका १० वटै वडाको आफ्नै भवन बनेका हुन् । बेनीमा वडा नम्बर ७ र ८, अर्थुङ्गेमा ६ तथा पात्लेखेतमा १० नम्बर वडाको कार्यालय भवन निर्माण गरिएको नगरपालिकाका इन्जिनियर विमलरञ्जन कार्कीले जानकारी दिनुभयो ।  

“बेनी नगरपालिकाको १, २, ३, ४, ५ र ९ नम्बर वडाको यसअघिनै भवन थिए”, उहाँले भन्नुभयो, “बहुवर्षे क्रमागत योजनाअन्तर्गत चार वटा नयाँ भवन निर्माण चालु आर्थिक वर्षमा सकिएका हुन् ।” आर्थिक वर्ष २०७६/७७ मा अर्थुङ्गेमा सुरु भएको वडा नम्बर ६ को भवन निर्माण कार्य चालु आर्थिक वर्ष २०७८/७९ मा विनियोजन भएको रु २० लाख बजेटबाट ठेक्कामार्फत पूर्णता दिइएको हो । 

पात्लेखेत र वाखेत गाउँको सिमानामा रु २० लाख खर्चेर गत वर्ष निर्माण भएको १० नम्बर वडाको तीन कोठे एक तले भवनमा चालु वर्ष विनियोजन भएको रु नौ लाख बजेटबाट सभाहल बनाएको वडा अध्यक्ष मसविर रोकाले बताउनुभयो । 

बेनीको सामुदायिक चोकमा अघिल्ला दुई आवमा तयार पारिएको वडा नम्बर ७ को भवनको संरचनालाई चालु आवमा विनियोजन भएको रु आठ लाख बजेटबाट ठेक्कामार्फत प्लास्टर, रङरोगन, विद्युत्, पानी जडान गरेर पूर्णता दिइएको हो । 

नगरपालिकाले क्याम्पसचोकको भलबाढी व्यवस्थापनका लागि अधिग्रहण गरेको जग्गामा रहेको घरलाई पुनःनिर्माण गरेर ८ नम्बर वडाको कार्यालय सञ्चालन गरिएको छ । नगरपालिकाले गत वर्ष क्याम्पसचोकको भलबाढी ब्यवस्थापन गर्न रु एक करोड २१ लाखमा चार आना जग्गा र त्यहाँ रहेको घर अधिग्रहण गरेको थियो । 

क्याम्पसचोकका बासिन्दाले रु २१ लाख सङ्कलन गरेर नगरपालिकालाई उपलब्ध गराएका थिए । अधिग्रहण भएको घरको भुइँतलामुनि भूमिगत नाला बनाएर बाढी व्यवस्थापन गरिएको छ । भुइँतलाको सटरसहित तीनवटा कोठा भाडामा लगाइएको छ । 

पहिलो तलाको तीनवटा कोठामा वडा कार्यालय स्थापना गरिएको हो । भवन पुनःनिर्माण गरेर कार्यालय स्थापना गर्न चालु आवमा रु दश लाख खर्च भएको छ । नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह, कार्यालय सञ्चालन, भेला, बैठक आयोजना गर्न सहज भएको बेनपा–७ का वडाध्यक्ष रमेशकुमार श्रेष्ठले बताउनुभयो । 

वडा नम्बर ६ बाहेकको अन्य सबै भवन प्रयोगमा आइसकेका छन् । गत वर्ष नगरपालिकाको भवन परिसरमा विषयगत शाखा कार्यालयका लागि नयाँ प्रशासकीय भवन निर्माण भएको थियो । प्रशासकीय भवनमा आगामी आवमा तला थप गर्न बजेट व्यवस्थापन गरिएको नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button