तपाईँ सुन्दै हुनुहुन्छः

मोदीका किसानलाई दूधमा अनुदान

पर्वत । पर्वतको मोदी गाउँपालिकाले दूध उत्पादक कृषकहरूलाई अनुदान वितरण सुरु गरेको छ ।

व्यावसायिक रुपमा गाई भैँसी पालन गरी दूध बिक्री गर्दै आएका कृषकहरूलाई प्रोत्साहन स्वरूप अनुदान वितरण थालिएको हो ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान क्षेत्रीका अनुसार दूध उत्पादक कृषकलाई प्रति लिटरमा ३ रुपैयाँ अनुदान उपलब्ध गराइने भएको छ ।

दूध उत्पादक कृषकहरूले पटक पटक पालिकासमक्ष अनुदानको माग गर्दै आएका थिए । कृषकहरूको लगानी अनुसार दूधको मूल्य नभएको भन्दै स्थानीय सरकारले अनुदान दिनुपर्ने माग लामो समयदेखि उठेको थियो ।

अनुदान लिनका लागि कृषकहरूले चालु आर्थिक वर्षको चैत १ गतेदेखि असारसम्म उत्पादन भएको दूधको विवरणसहित आवेदन पेश गर्न सूचना जारी गरिएको छ ।

कृषकहरूले आवेदनसँगै संस्था दर्ताको प्रमाणपत्रको प्रतिलिपि, दूध उत्पादन लिटरको प्रमाणित विवरण, दूध उत्पादक सहकारी संस्थानको सञ्चालकको निर्णय, सम्बन्धित वडा कार्यालयको सिफारिस र कर चुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ । यसबाट कृषकहरू लाभान्वित हुने भएका छन् ।

आफूले बिक्री गर्दै आएको मूल्यमा गाउँपालिकाले थोरै भए पनि अनुदान दिएपछि कृषकहरूलाई थप हौसला प्रदान हुने र व्यावसायिक पशुपालनमा लाग्ने कृषकहरूको आकर्षण बढ्ने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button