तपाईँ सुन्दै हुनुहुन्छः

‘क्षति न्यून गर्न सुरक्षा निकाय पूर्ण तयारीमा बस्नुपर्छ’

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यून गर्नका लागि सुरक्षा निकायलाई तयारीमा अवस्थामा बस्न निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्री राउतले मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा धनुषा तथा सिरहा जिल्लाको सिमानामा पर्ने बन्दिपुरस्थित कमला ब्यारेजमा आयोजित प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन, अनुगमन गर्दै सुरक्षा निकायहरूले विपद् प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको बताउनुभयो ।

मुख्यमन्त्री राउतले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद् न्यूनीकरणका लागि तीनै तहका सरकारबिच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बाढीबाट वर्षेनी जोखिममा पर्दै आएको क्षेत्रको पहिचान अहिले नै गर्नुपर्ने उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने पूर्व तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिनुभयो ।

मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विपद्मा परेका नागरिकको उद्धार तथा पुनः स्थापनको काममा सुरक्षा निकायले कुनै पनि कसर बाँकी राख्न नहुने बताउनुभयो । कार्यक्रममा गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतो, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहितका सुरक्षा निकायका प्रमुख सहभागी हुनुहुन्थ्यो ।

उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीबाट जनधनको क्षति न्यूनीकरणका लागी गरिने प्रयासहरूका बारे प्रयोगात्मक अभ्यास गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button