तपाईँ सुन्दै हुनुहुन्छः

शङ्कास्पद वस्तुसहित भारतीय कन्टेनर नियन्त्रणमा

नेपालगञ्ज । बाँकेमा शङ्कास्पद वस्तुसहित एक भारतीय कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ । आज नेपालबाट भारततर्फ जाँदै गरेको कन्टेनरमा अवैध वस्तु भएको गोप्य सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको जमुनाह प्रहरी चौकीका इन्चार्ज माधव रिजालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कन्टेनर खाली देखिए पनि अगाडिको भागमा वेल्डिङ गरेर २५० वटा बोरामा मसिनो दाना भएको वस्तु लुकाइएको अवस्थामा फेला परेको छ । प्रहरीले उक्त दाना ह्वाइट पप्पी सिड जस्तो देखिएको बताएको छ । ह्वाइट पप्पी सिड दुई खाले हुने भएकाले के हो भन्नेबारे अझै यकिन भइनसकेको रिजालले बताउनुभयो ।

अफिमको बीउ हो वा केकमा राखिने वस्तु हो भन्नेबारे परीक्षणपछि मात्रै यकिन हुने उहाँको भनाई छ । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार उक्त कन्टेनरमा राखिएका बोरामा ब्राउन सुगर र सुन राखिएको भन्ने सूचना प्रहरीलाई प्राप्त भएको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले कन्टेनर नियन्त्रणमा लिएर चेकजाँच गर्ने क्रममा उक्त सामान भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले कन्टेनर र सामान बरामद गरे पनि कन्टेनरका चालक र सहचालक भने फरार छन् । प्रहरीले कन्टेनर र त्यसमा भेटिएको २५० बोरा ह्वाइट पप्पी सिड जस्तो देखिने सामानलाई भन्सार कार्यालय नेपालगन्जमा पठाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button