तपाईँ सुन्दै हुनुहुन्छः

अछामको चौरपाटीमा कोदो दिवस

अछाम । अछामको चौरपाटी गाउँपालिकाले तेस्रो ‘कोदो दिवस’ मनाएको छ । कोदो बालीको संरक्षण एवं प्रवर्द्धन गर्न गाउँपालिकाले ३ वर्षदेखि दिवस मनाउँदै आएको छ ।

पालिकाभित्र रहेका सात वटै वडामा कोदो रोपेर तथा गोडेर ‘कोदो दिवस’ कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

कोदोको उत्पादन वृद्धि गर्न ‘फलेको कोदो, कुटेको धान’ भन्ने कार्यक्रम अगाडि सारेर गाउँपालिकाले विशेष कार्यक्रम ल्याएको छ । कोदो दिवस कार्यक्रममा सहभागी हुँदै चौरपाटी गाउँपालिका उपाध्यक्ष सर देवी खड्काले कोदोलाई बजारसँग जोड्ने र पकेट क्षेत्र बनाउन विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्र साउद, कार्यपालिका सदस्य भक्ते कामी लगायतका जनप्रतिनिधि, कर्मचारीहरूको सहभागिता रहेको थियो । गाउँपालिकाले प्रत्येक वर्ष कोदो दिवस मनाउँदै आएको छ ।

हेलाका रुपमा हेरिने तर प्रशस्त पौष्टिक तत्त्वले भरिपूर्ण कोदोको संरक्षणका लागि चौरपाटी गाउँपालिकाका तत्कालीन अध्यक्ष हर्कबहादुर साउँदले अभियान सञ्चालन गर्नुभएको थियो । उक्त कार्यलाई हालका अध्यक्ष भीम बहादुर साउँदले पनि निरन्तरता दिनुभएको हो ।

किसानबाट कोदो सङ्कलन गरी सोही बराबर चामल दिइन्छ ।

किसानबाट सङ्कलित कोदोको प्याकिङ र बजारीकरण गरिने गाउँपालिकाको नीति तथा कार्यक्रम रहेको छ । जसअन्तर्गत गाउँपालिकाले पर्याप्त अनुदानको व्यवस्था समेत गरेको जनाएको छ ।

पछिल्लो समय बाँझै रहने गाउँपालिका क्षेत्रका लेकाली जग्गामा कोदो खेती गरेको देखिन थालेको छ । बाँझै रहने लेकाली क्षेत्रमा खेती गरिन थालेपछि उत्पादन बढ्ने र जग्गाको पनि सदुपयोग भएको पाइएको छ । बाँझै रहने लेकाली जग्गामा खेतीपाती गरिन थालेपछि गह्राहरु हरिया देखिन थालेका चौरपाटी ४ का स्थानीय कालुसिंह बोहराले बताउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button