तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता शुरु, १० वटै पालिकाको सहभागिता 

अछाम । अछाममा १२ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड तथा विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता जिल्लाको मेल्लेख गाउँपालिकाको नन्देश्वरी माविको खेलमैदानमा शुरु भएको हो ।

प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि मेल्लेख गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले खेलकुद क्षेत्रको विकासका लागि अछाम जिल्लाका सबै स्थानीय तहले बजेट व्यवस्थापन गरी लगानी बढाउनुपर्ने बताउनुभयो ।

खेलकुदको माध्यमबाट अछाम जिल्लाको पहिचान गराउन खेलाडीहरूले खुलेर प्रतिस्पर्धा गर्नुपर्ने र आफ्नो छुट्टै पहिचान देखाउनु पर्ने उहाँले बताउनुभयो । खेलकुदको माध्यमबाट पहिचान गराउन उत्कृष्ट खेलाडीलाई छनोट गर्नुपर्ने पनि बताउनुभयो ।

प्रतियोगिताका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नृपबहादुर खड्काले खेलमा अनुशासित ढङ्गबाट प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर बहादुर रावलले विद्यार्थी उमेरदेखि नै खेल क्षेत्रको विकासका लागि वातावरण तयार पार्नुपर्ने बताउनुभयो ।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतियोगितालाई मेल्लेख गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले सह(आयोजनामा गरेको हो । प्रतियोगितामा जिल्लाका १० वटा स्थानीय तहबाट छनौट भएका विद्यालय तहका खेलाडीहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button