तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा एक महिनादेखि हवाई सेवा बन्द

अछाम । अछाममा एक महिनादेखि हवाई सेवा बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ । अछामको एकमात्र साँफेबगर विमानस्थलमा उडान भर्दै आएका नेपाल एयरलाइन्स र समिट एयरलाइन्सले विभिन्न कारण देखाउँदै उडान भर्न छाडेपछि सेवाग्राही सेवाबाट वञ्चित हुनुपरेको छ ।

अछाममा जहाज नआउँदा यात्रुहरूले धनगढी–अछाम आवतजावतमा हवाई सेवा लिन नपाएका हुन् । सडकमार्गबाट धनगढी पुग्न करिब १२ घण्टा बढी समय लाग्ने गर्दछ । हवाई मार्गबाट करिब २० मिनेटमै पुग्न सकिन्छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशनमा गत कात्तिकबाट धनगढी—अछाम उडान सुरु गरेको नेपाल एयरलाइन्सले १ महिना देखि उडान बन्द गरेको हो ।

क्षेत्रीय कार्यालयले १ महिना सम्म जहाज नआउने जानकारी गराएको तर १ महिना बढी बितिसक्दा समेत जहाज नआएको नेपाल एयरलाइन्स साँफेबगरका प्रतिनिधि चक्र कुँवरले बताउनु भयो ।

नेपाल एयरलाइन्सका ट्विनअटर जहाज उडाउने पाइलट कारबाहीमा पर्दा पाइलट अभावमा जहाज साँफेबगर नआएको बुझिएको छ । नेपाल एयरलाइन्सले शुक्रवार र सोमबार धनगढीबाट अछाम नियमित उडान भरिरहेको थियो ।

यस्तै नियमित उडान तालिका नभए पनि अछाम आइरहेको समिट एयरलाइन्सको जहाजले मनाङ, सोलुखुम्बुमा विदेशी पर्यटक बोक्दा अछामको उडान कटौती भएको बुझिएको छ । विदेशी नागरिकहरू बोक्दा बढी भाडा तिर्नुपर्ने कानूनी व्यवस्थाका कारण एयरलाइन्स कम्पनीहरूले दुर्गम ठाउँका उडान कटौती गर्ने गरेका बताइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button