तपाईँ सुन्दै हुनुहुन्छः

थप ५५ जनामा सङ्क्रमण पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार ६९८ जनाको नमुना परीक्षण गरिएको थियो । एक हजार ५३२ जनाको पिसिआर र एक हजार १६६ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

सो अवधिमा १७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ४६२ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ४७७ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २८० रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । होम आइसोलेसनमा २७४, संस्थागत आइसोलेसनमा छ र आइसियुमा तीन जना सङ्क्रमित रहेका छन् । 

हाल देशभरमा २०० भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, इलाम, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासीपूर्व, बागलुङ, रुकुमपूर्व, दाङ, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम र कालिकोट रहेका छन् । 

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा १३१, ललितपुरमा ३४ र भक्तपुरमा नौ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कूल सङ्क्रमण दर १७ दशमलव प्रतिशत छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button