तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा स्पोर्ट्स अवार्ड : सात विधामा अवार्ड प्रदान गरिँदै

कास्की । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यही असार १८ गते पोखरामा हुने छैटौँ संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड–२०७८’ को सम्पूर्ण तयारी पूरा भएको छ । 

मञ्चले आज पोखरामा पत्रकार सम्मेलन गरेर पोखरा सभागृहमा सञ्चालन हुने अवार्ड वितरण समारोहको आवश्यक सम्पूर्ण तयारी सकिएको जानकारी दिँदै कार्यक्रममा वितरण गरिने ट्रफीसमेत सार्वजनिक गरेको छ ।

मञ्चका अध्यक्ष दीननाथ बराल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सरिता तिम्सिना पङ्गेनी, मञ्चका पूर्व अध्यक्ष विनोद लामिछानेलगायतले ट्रफी सार्वजनिक गर्नुभयो । मञ्च अध्यक्ष बरालले स्पोर्ट्स अवार्डमा सात विधामा अवार्ड वितरण गरिने जानकारी दिनुभयो । 

उहाँका अनुसार ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल सङ्घ र वर्ष उत्कृष्ट खेल पत्रकार विधामा अवार्ड प्रदान गरिनेछ ।

मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड पूर्वअन्तर्राष्ट्रिय बक्सिङ खेलाडी गणेशबहादुर भट्टराईलाई प्रदान गर्ने निर्णयअघि नै गरेको छ । खेलाडीले पछिल्लो राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनलाई आधार मानेर अवार्ड प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले बताउनुभयो ।

मञ्चले उत्कृष्ट खेलाडीको मनोनयनसमेत सार्वजनिक गरेको छ । जसमा वर्ष खेलाडी पुरुष विधामा ब्याडमिन्टनका विधान अधिकारी, कराँतेका बुद्ध लामा र टेनिसका प्रदीप खड्का हुनुहुन्छ । वर्ष खेलाडी महिलामा भलिबलका अरुणा शाही, क्रिकेटका मनिषा उपाध्याय र कराँतेका सरगम कुमाल मनोनयनमा पर्नुभएको छ । 

यसैगरी उदीयमान खेलाडी विधामा टेनिसका दर्शिल श्रेष्ठ, क्रिकेटका सृष्टि जैशी र बक्सिङका शाहिल लिम्बू, उत्कृष्ट प्रशिक्षक विधामा क्रिकेटका रिजन प्रजु, तेक्वान्दोका रेकमाया गुरुङ र टेनिसका निरज थापा मनोनयन सूचीमा पर्नुभएकामा छनोट समितिले गरेको निर्णयका आधारमा उत्कृष्ट एक जनालाई अवार्ड वितरण हुनेछ । 

पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत वर्ष खेलाडी पुरुष र महिलाले टेल जी ब्राण्डको टाइगर मोडलको इलेक्ट्रिक स्कुटर र ट्रफी पुरस्कार स्वरूप प्राप्त गर्नेछन् । वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद सङ्घ, उत्कृष्ट खेल पत्रकारलाई नगद रु ३५ हजारका साथमा ट्रफी प्रदान गरिने मञ्चले जनाएको छ । 

यसैगरी लाइफ टाइम अचिभमेन्ट अवार्ड प्राप्त गर्ने व्यक्तिलाई चाँदीको करुवा, ट्रफी, ताम्र पत्र र दोसल्लाले सम्मान गरिनेछ । अवार्ड कार्यक्रमको थप आकर्षणका रूपमा गायक विनोद बानियाँ, हास्य कलाकार युवराज भण्डारी, गायक सन्तोष बस्याल, गायिका प्राप्ति तुलाचन, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीको प्रत्यक्ष दोहोरी, गण्डकी प्रज्ञा–प्रतिष्ठानको सांस्कृतिक नृत्य, गण्डकी बि व्वाइजको बिबोइङ नृत्य, गजल वाचन र डेमोस्ट्रेशन रहने मञ्च अध्यक्ष बरालले जानकारी दिनुभयो । 

मञ्चले विसं २०७२ देखि खेलकुदका माध्यमबाट राष्ट्रको शिर उँचो राख्न सक्षम खेलाडी तथा खेल क्षेत्रमा लागेका व्यक्तिलाई हौसला प्रदान गर्न बर्सेनि स्पोर्ट्स अवार्ड प्रदान गर्दै आएको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button