तपाईँ सुन्दै हुनुहुन्छः

मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरको सहयोग

भक्तपुर । सडकमा बस्न बाध्य मानवहरूको उद्धार र सेवा गर्दै आइरहेको मानव कल्याण समाजलाई स्वास्थ्य कार्यालय भक्तपुरले सहयोग गरेको छ । आज मानव कल्याण समाजको सेवा घर झौखेललाई कार्यालयले ज्येष्ठ, असहाय नागरिकको स्वास्थ्य जाँच, स्वास्थ्य बीमा र स्वास्थ्य सामाग्री वितरण कार्यक्रम गरेको हो ।

कार्यालयले समाजलाई  रु १ लाख बराबर स्वास्थ्य उपकरण, यहाँ रहेका मानसिक रोगका बिरामीहरूलाई करिब २ महिना पुग्ने रु ८० हजार बराबरको औषधी सहयोग गरेको छ । 

सेवा घरमा रहेका ५० जनालाई स्वास्थ्य बीमा रु ३५ हजारको गर्न कार्यालयले सहयोग गरेको स्वास्थ्य कार्यालय भक्तपुरकी अस्मिता ढुङ्गानाले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालय भक्तपुरका निमित्त कार्यालय प्रमुख शान्तिराम खतिवडाले वर्षेनी गर्दै आइरहेको जनचेतना सम्बन्धी कार्यक्रम यो वर्ष मानव कल्याणमा गरिएको बताउनुभयो । खतिवडाले यहाँ रहेका ज्येष्ठ नागरिक र असहायको सामान्य उपचार गर्न सजिलो होस् भनेर सानो उपचार कक्ष समेत बनाइदिएको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिका नगर अस्पतालकी संयोजक डा. मनीषा कार्कीले आफूले विगतमा पनि  संस्थालाई सहयोग गर्दै आएको र भविष्यमा पनि गर्ने बताउनुभयो । कार्यालयका सम्पूर्ण कर्मचारीले खाजा खर्च बापतको रकम रु१० हजार समेत संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा स्वास्थ्य कार्यालयमा कर्मचारी, सेवा घरमा रहेका ज्येष्ठ नागरिकको उपस्थिति रहेको थियो । 

संस्थाकी अध्यक्ष सुमित्रा चौलागाईंले सेवा घरले हालसम्म ३०० भन्दा बढी सहयोगकापेक्षी सडकमा बस्न बाध्य परिवारबाटै परित्याग मानवलाई उद्धार गरी पालनपोषणको व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button