तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिपुरमा रहेको ऐतिहासिक ‘ख्याली द्यो’को पुनः निर्माण हुँदै

काठमाडौँ । कीर्तिपुर नगरपालिका–१ मा अवस्थित ऐतिहासिक महत्त्वको ‘ख्याली द्यो’ को पुनः निर्माण गरिने भएको छ । 

रवीन्द्र पुरी फाउण्डेशन फर कञ्जरभेसन भक्तपुर, ख्याली द्यो संरक्षण गुठी तथा कीर्तिपुर नगरपालिकाको संयुक्त प्रयास र काठमाडौँस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा ख्याली द्योको पुनर्निर्माण गर्न लागिएको हो । 

आज आयोजित कार्यक्रममा कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मी र नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले संयुक्त रूपमा क्षमता पूजा गरी उक्त ख्याली द्यो पुनः निर्माणको शुभारम्भ गर्नुभयो । कूल रु एक करोड ३४ लाखको लागतमा सो ख्याली द्योको पुनः निर्माण गरिनेछ । 

ख्याली द्योलाई प्रेमको भगवान् मानिँदै आएको छ । यसमा अवस्थित लक्ष्मी–नारायणको मूर्ति अत्यन्त महत्त्वपूर्ण तथा दुर्लभ रहेको छ । शिलालेखअनुसार यस मूर्तिलाई धनपति बहाली भारोले सन् १६९४ मा बनाएका हुन् । अन्य मूर्तिमा भएको जस्तो नभई यस मूर्तिमा लक्ष्मीको हात नारायणको काँधमा साथै नारायणको हात लक्ष्मीको काँधमा अवस्थित देखिन्छ ।  

सो मूर्तिमा पूजाआजा गरेपश्चात् प्रेमी प्रेमिकाको सुमधुर सम्बन्ध रहनुका साथै अविवाहितको विवाह हुने जनविश्वास रहेको ख्याली द्यो संरक्षण गुठीले जनाएको छ । पुनः निर्माण परियोजनाअन्तर्गत मन्दिरलाई पुरानो स्वरूपमा आकर्षक ढङ्गले पुनर्निर्माण गरिनेछ । सोही स्थानमा १६ खुट्टे सत्तलसमेत निर्माण गरिनेछ । 

सो अवसरमा कीर्तिपुर नगरपालिकाका प्रमुख नकर्मीले कीर्तिपुरका सांस्कृतिक धरोहरलाई संरक्षण गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले र्कीितपुरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन पहल गरिदिन राजदूत बेरीसमक्ष आग्रह गर्नुभयो । 

नेपालका लागि अमेरिकी राजदूत बेरीले नेवार जातिको कला, संस्कृतिलाई आफूले नजिकबाट नियालेको उल्लेख गर्दै यहाँका सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाले सहयोग गर्दै आएको बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव डा सुरेश श्रेष्ठले कीर्तिपुरको कला संस्कृतिलाई जीवन्त राख्न नगरवासीलाई आग्रह गर्नुभयो । 

पुरातत्त्व विभागका महानिर्देशक दामोदर गौतमले विभिन्न माध्यमबाट विदेशमा पुगेको नेपाली सांस्कृतिक सम्पदालाई नेपाल फर्काउन अमेरिकाले गरेको सहयोगप्रति आभार प्रकट गर्नुभयो । रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button