तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशमा सिकल सेलका बिरामी बढ्दै, बर्दिया जिल्लामा अत्यधिक बिरामी 

भैरहवा । लुम्बिनी प्रदेशमा सिकल रोगका बिरामी बढ्दै गएको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा देखिएको छ । 

प्रायः तराईको थारु जातिमा देखिने सिकल सेलका बिरामीहरू लुम्बिनी प्रदेशमा बढी भएको पाइएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो । बाबु आमाबाट छोराछोरीमा सर्ने सिकलसेल रोग अत्यधिक गर्मीका कारण तराईमा बसोबास गर्नेहरूलाई धेरै देखिएको पाइएको ढकालले बताउनु भयो । 

यो रोग जिनमा हुने खराबीले गर्दा हुने जसले गर्दा रातो रक्त कोषहरू गोलो आकार हुनुको साटो हँसिया आकारको हुन्छ ढकालले भन्नुभयो, सामान्यतया यो रोग नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु जातिहरूमा बढी देखिने गरेको पाइन्छ । 

स्वास्थ्य कार्यालय रुपन्देहीका सिकल सेल रोग फोकल पर्सन रत्न लाल शर्माका अनुसार सामान्यतया रातो रक्त कोसको आयु १ सय २० दिन सम्मको हुन्छ तर सिकल सेल भएका रक्त कोषहरूको आयु १० देखि २० दिन सम्मको हुने हुँदा बिरामीलाई रक्त अल्पता हुन्छ । 

आमा बाबु दुबैमा यो रोगको जिन भएमा वा दुई मध्ये एक जना भएमा पनि यो रोग बच्चामा सर्न सक्छ र नसर्न पनि सक्छ शर्मा भन्नुहुन्छ, तर सर्ने तथा नसर्ने जोखिमको बारेमा जेनेटिक परामर्श लिनुपर्ने हुन्छ । यो रोगको जिन भएका व्यक्तिहरूमा लक्षणहरू देखा पर्छ भन्ने छैन र उनीहरूले सामान्य जीवन बिताउन सक्छन् । 

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बाँके जिल्लामा ६५ पुरुष, ५७ महिला गरी जम्मा १ सय २२ जनामा सिकल सेल रोग भएको पाइएको छ । सुर्खेत जिल्लामा १३ जना महिला, १५ जना पुरुष गरी जम्मा २८ जनामा देखिएको छ । 

कैलाली जिल्लामा १७ जमा महिलामा, ९ जना पुरुषमा गरी जम्मा २६ जनामा यो रोग देखिएको छ भने बर्दिया जिल्लामा लुम्बिनी प्रदेशकै सबैभन्दा बढी २ सय १९ जना महिलामा, १ सय ७५ पुरुष गरी जम्मा ३ सय ९४ जनामा देखिएको छ । 

दाङ जिल्लामा १३ जना महिला १ जना पुरुष, कपिलवस्तु जिल्लामा १ जना पुरुष १ जना महिला र रुपन्देही जिल्लामा १८ जना महिला, ९ जना पुरुष गरी २७ जनामा सिकल सेल रोग देखिएको र नियमित उपचार भइरहेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

सन् १९१० मा अमेरिकाको सिकागो बाट पत्ता लागेको यो रोग दक्षिण अफ्रिकाको मान्छेमा पहिलो पटक देखिएको र नेपालमा २०६८ साल देखि पत्ता लागेको हो । 

यो रोगले गर्दा बिरामीको रगतमा अक्सिजनको कमी हुने, शरीरका भित्री अङ्गहरूमा असर गर्ने, मस्तिष्क घात हुने, पत्थरी हुने, शरीर दुख्ने, मिर्गौला खराबी, पुरुषको लिङ्ग उत्तेजित हुँदा पिडा हुने गर्दछ । यसबाट बच्नका लागी सिकल सेल रोगको बारेमा थाहा पाउन रगत परिक्षण गराउने, रगत परिक्षण गराउँदा  सिकल सेल रोग देखिएमा नाता पर्ने सबैले जाँच गराउने, रोग देखिएमा स्वास्थ्यकर्मी बाट उपचार गराउनु पर्छ । तर यो रोग पुर्णरुपमा निको हुँदैन । 

यो रोगको उपचार प्रादेशिक अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा हुने स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button