तपाईँ सुन्दै हुनुहुन्छः

असंलग्न आन्दोलनको सान्दर्भिकता अझ बढेको छ : सभामुख सापकोटा  

बाकु । सभामुख अग्निप्रसाद सापकोटाले भू–राजनीतिक मुद्दालगायत विश्वव्यापी स्तरका चुनौतीहरूको सन्दर्भमा ‘असंलग्न आन्दोलन’को सान्दर्भिकता अझ बढेको बताउनु भएको छ ।

अजरबैजानको राजधानी बाकुमा जारी ‘असंलग्न आन्दोलनको संसदीय सञ्जाल (Non-Aligned Movement’s Parliamentary Network)’ को सम्मेलनलाई नेपालको संसदीय प्रतिनिधि मण्डलका तर्फबाट नेपाली समय अनुसार साँझ आज सम्बोधन गर्दै उहाँले असंलग्न आन्दोलनका साझा प्रयासबाट विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन नेपालको सहयोग  र ऐक्यबद्धता व्यक्त गर्नु भयो ।

‘नेपालको प्रतिनिधिमण्डलका तर्फबाट सहयोग र ऐक्यबद्धताको बढ्दो स्तरको लागि असंलग्न आन्दोलनका सदस्यहरूसँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दछ ।  प्रगति, समृद्धि, न्याय र समानतामा आधारित साझा भविष्यका लागि हामी आन्दोलनका नेताहरूलगायत विश्वका सबै नेताहरूलाई हातेमालो गर्न आह्वान गर्दछौँ ।’ सभामुख सापकोटाले आफ्नो सम्बोधनमा भन्नु भयो ।

सभामुख सापकोटाले नेपालको संविधानले असंलग्नतालाई परराष्ट्र नीतिको अभिन्न अङ्गको रूपमा समेटेको जानकारी गराउँदै भन्नुभयो ‘नेपाल असंलग्न आन्दोलनको सिद्धान्तलाई कायम राख्नुपर्छ, न्यायपूर्ण विश्वको समर्थनमा आवाज उठाउनु पर्छ र कमजोर देशहरूको लागि समर्थन सुनिश्चित गर्नुपर्छ भन्ने दृढ धारणा राख्दछ ।’

सम्बोधनका क्रममा सभामुख सापकोटाले ‘असंलग्न आन्दोलन संसदीय सञ्जाल’ आन्दोलनको मूल्य, मान्यता र सिद्धान्तलाई बलियो बनाउन कोसेढुङ्गा साबित भएको उल्लेख गर्नु भयो । यसले आन्दोलन भित्रको सहयोगको बहुआयामिक प्रकृतिलाई सार्थकता दिएको उहाँको भनाई थियो ।  

‘आन्दोलनको छलफलमा सांसदहरूलाई संलग्न गराउनुले यस विश्वव्यापी एजेन्डालाई जनताको नजिक ल्याउन योगदान पुर्‍याउँछ । त्यस्ता संलग्नताहरूले आन्दोलन अन्तर्गत हाम्रा साझा लक्ष्यहरूलाई दिगो र समृद्ध बनाउन मद्दत गर्नेछ । 

यस सञ्जालले उदीयमान विश्वव्यापी चुनौतीहरूलाई सम्बोधन गर्दै असंलग्न मूल्यहरूलाई गहिरो र विस्तार गर्न सांसदहरूलाई सक्षम बनाउने मेरो प्रतिनिधिमण्डलको धारणा छ ।’सभामुख सापकोटाले भन्नु भयो ।  

‘असंलग्न आन्दोलन विश्वभरका देशहरूमा स्वतन्त्रता, स्वावलम्बन, लोकतन्त्र र न्याय सुनिश्चित गर्न सफल भएको छ । हामीले सामूहिक रूपमा द्वन्द्व र चुनौतीहरूलाई कम गरेका छौँ ।’ उहाँले भन्नु भयो ‘उपलब्धिहरूको बाबजुद, हामीले द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक मन्दी, मूल्यवृद्धिसम्मका नयाँ र दोहोरिने समस्याहरूको सामना गरिराखेका छौँ । धनी र गरिबबीचको असमानता बढ्दै गएको साथै ऊर्जा संकट र खाद्य असुरक्षा पनि सूचीमा थपिएका छन् ।’ सभामुख सापकोटाले आफ्नो सम्बोधनका क्रममा भू–राजनीतिक तनावको उदयको बीचमा, विश्वले हतियारको दौडको अभूतपूर्व स्तर देखेको, महाशक्तिहरू र महत्त्वाकाङ्क्षी शक्तिहरू बीच पनि सैन्य खर्च बढ्दै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।  

सभामुख सापकोटाले कोभिड–१९ महामारीले मानवताका लागि ऐतिहासिक अनुपातका चुनौतीहरू छोड्ने र विश्वव्यापी रूपमा सङ्क्रमणका घटनाहरू कमी आए पनि कम  विकसित राष्ट्रहरूका लागि कोभिड–१९ पछिको आर्थिक पुनरुत्थान अप्ठ्यारो काम हुने धारणा राख्नु भयो । उहाँले जलवायु परिवर्तन मानव जातिको अस्तित्वलाई खतरामा पार्ने अर्को चुनौती रहेको चर्चा गर्नु भयो ।  

‘अझ शान्त, समृद्ध र न्यायपूर्ण संसारको खोजीमा असंलग्न आन्दोलनले सबै क्षेत्र र मार्गहरूलाई संलग्न गरिरहनुपर्छ । असंलग्न देशका सांसदहरूसँग हाम्रो साझा सरोकारका विश्वव्यापी एजेन्डाहरूलाई सम्बोधन गर्न आन्दोलनको प्रयासलाई पूरक बनाउन सक्ने क्षमता र शक्ति छ । यस आवश्यकतालाई ध्यानमा राख्दै, हामीले सामूहिक रूपमा परिकल्पना गरेका सांसदहरूको ‘असंलग्न आन्दोलन सञ्जाल’ले आन्दोलनको व्यापक उद्देश्यहरू पूरा गर्न सहयोग गर्नेछ भन्नेमा म पूर्ण विश्वस्त छु । नेपालको सङ्घीय संसद् यस महत्त्वपूर्ण पहललाई दृढतापूर्वक समर्थन गर्दछ ।’ उहाँले भन्नुभयो ।

अजरबैजानको बाकुमा सम्मेलन आयोजना गरेर आफु र प्रतिनिधिमण्डललाई न्यानो स्वागत गरेकोमा सभामुख सापकोटाले त्यहाँको सरकार, संसद् र अजरबैजानका जनतालाई धन्यवाद ज्ञापन गर्नु भयो ।

आज देखि सुरु भएको सम्मेलन असार १८ गते सम्म चल्ने छ । सभामुख सापकोटाको नेतृत्वमा प्रतिनिधि सभा सदस्य पुष्पा भुषाल गौतम, राष्ट्रिय सभा सदस्य रामचन्द्र राई र सभामुख सापकोटाका स्वकीय सचिव गोविन्द पाठक यही असार १४ गते अजरबैजानर प्रस्थान गर्नु भएको हो । नेपाली प्रतिनिधि मण्डल असार १९ गते साँझ नेपाल फर्कने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button