तपाईँ सुन्दै हुनुहुन्छः

सकियो कर्णाली प्रादेशिक महोत्सव 

सुर्खेत । साना लघु, घरेलु तथा महिला उद्यमीद्वारा उत्पादित वस्तुहरूको प्रथम कर्णाली प्रादेशिक महोत्सव सकिएको छ । 

सुर्खेतको वीरेन्द्रनगरस्थित औद्योगिक ग्राममा सञ्चालित तीन दिने प्रादेशिक महोत्सवमा १० जिल्लाका साना लघु, घरेलु उद्यमीबीच आपसी समन्वय तथा सहयोग गर्ने प्रतिबद्धतासहित चार लाखको कारोबार गर्दै बुधवार सकिएको हो । 

महोत्सव समापन समारोह कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पूर्व भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले साना लघु, घरेलु उद्योगहरूलाई टिकाई राख्न दिन प्रतिदिन चुनौतीहरू बढ्दै गइरहेकाले कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने नीति निर्माण गरेको बताउनुभयो । 

उहाँले सरकारी स्तरबाटै स्थानीय अर्थतन्त्रलाई बलियो बनाए आम नागरिकको समृद्धिको सपना पुरा गर्नका लागि साना लघु, घरेलु उद्योगहरूको प्रवद्र्धन तथा विकास अपरिहार्य रहेको जिकिर गर्नुभयो । 

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर बिसीले महोत्सव, मेला, तथा प्रदर्शनीले बजारीकरणमा टेवा पुग्नुका साथै उद्यमी वीच एक आपसमा समन्वय तथा सहकार्यको भावना अभिवृद्धि भएको बताउनुभयो । 

महासङ्घका केन्द्रीय सचिव सचिव दीपकबहादुर बुढाले १५ प्रतिशत महँगो भए पनि स्थानीय उत्पादनलाई बढावा दिन सरकारले नीति बनाए पनि कार्यान्वयनमा नल्याउँदा साना लघु, घरेलु उद्योगहरूको विकास हुन नसकेको बताउनुभयो । 

उहाँले स्थानीय संस्कृति, संस्कारलाई उत्पादनसँग जोडेर कृषि, पर्यटन, वनमा आधारित उद्योगको विकासमा राज्यको ध्यान पुग्न आवश्यक रहेको औँल्याउनुभयो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता बास्तोलाले महिलालाई स्वरोजगार बनाएर उद्यमी बनाउनका लागि मन्त्रालयसँगै थुप्रै कार्यक्रम भए पनि नीतिगत समस्याका कारणले लक्षित वर्गसँग सिँधै पुग्न नसकिएको बताउनुभयो ।

उहाँले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत स्थानीय पालिका र प्रदेश सरकारसँग समन्वय गरेर महिला लक्षित कार्यक्रमहरू सञ्चालन भइरहेकाले लाभ उठाउन आग्रह गर्नुभयो । 

महिला उद्यमी सङ्घ कर्णाली प्रदेशका अध्यक्ष गोमा वलीले पहिलो कर्णाली प्रदेश स्तरीय कृषि, साना, लघु, घरेलु महिला उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सामाग्रीको प्रदर्शनी मेलाले थुप्रै नयाँ अनुभवसँगै उद्यमीबीच सहकार्यको भावना विकास भएको बताउनुभयो ।

कर्णाली प्रदेशका १० वटै जिल्लाका महिला उद्यमीहरूले उत्पादन गरेका कृषि, लघु घरेलु वस्तु तथा साम्रागीहरुको प्रदर्शनी तथा महोत्सव महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमको आर्थिक सहयोगमा भएको हो । 

तीन दिनसम्म सञ्चालित महोत्सवमा स्थानीय उत्पादनसँगै स्थानीय कला संस्कृतिका झलकहरू प्रदर्शन गरिएको महोत्सवका कार्यक्रम संयोजक रुपाकुमारी भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button