तपाईँ सुन्दै हुनुहुन्छः

साझेदारी बनद्वारा साढे तीन लाख बढी बिरुवा उत्पादन

कपिलवस्तु । जिल्लाका तीन साझेदारी बनले तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी बन,शिवराज साझेदारी बन र गौतमबुद्ध साझेदारी बनले विभिन्न जातका बिरुवा उत्पादन गरी वितरणको तयारी गरेको छ । 

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षारोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिनु भयो । बिहीबार बन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका महाराजगन्ज नगरपालिका, कृष्णनगर नगरपालिका  र विजयनगर गाउँपालिकामा वृक्षारोपणको लागि सबै साझेदारी तथा डिभिजन बनले बिरुवाहरू उत्पादन गरेको बताउनुभयो ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि साझेदारी बनले उपभोक्तालाई मध्यनजर गरी कागजात तथा फलफूलका बिरुवाहरू वितरण गर्ने कपिलवस्तु साझेदारी बनका अध्यक्ष गंगेश तिवारीले बताउनुभयो । बिरुवाहरूको लागि निवेदन दिने क्रम सुरु भएकोले अब केही दिन बाट वितरण कार्य सुरु गरिने तिवारीले बताउनुभयो ।

कपिलवस्तु साझेदारी बनले १ लाख ३० हजार बिरुवाहरू उत्पादन गरेको छ । महाराजगन्ज नगरपालिका क्षेत्र रहेको नर्सरी बिरुवाहरू उत्पादन भएको सहायक बन अधिकृत एजाज अन्सारीले बताउनुभयो ।

त्यस्तै शिवराज साझेदारी बनले यस वर्ष १ लाख २० हजार,गौतमबुद्ध साझेदारी बनले १ लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुना, लगायतका बिरुवा उत्पादन भएको र उपभोक्ताहरूलाई निःशुल्क रूपमा बिरुवा वितरण गरिने सहायक बन अधिकृत प्रेम सङ्कर गुप्ताले बताउनुभयो । 

यता डिभिजन बन कार्यालय गौतमबद्धले  यस वर्ष २ लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ  । बहुवर्षिय बिरुवा अन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गर्ने डिभिजन बन कार्यालयका योजना शाखाका अधिकृत गणेश चौधरीले बताउनुभयो ।

शिवराज नगरपालिका ५ रहटकोलमा अतिक्रमित २२ हेक्टर बन क्षेत्रमा वृक्षारोपण गरिएको छ । स्थानीयहरू उपभोग गर्दै आएको बन क्षेत्रलाई डिभिजन बन कार्यालय गौतमबद्धले तारबार गरी वृक्षारोपण  गरेको डिभिजन प्रमुख दधिलाल कँडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button