२०७९ साल साउन २४ गते मंगलबार

तपाईँ सुन्दै हुनुहुन्छः

कीर्तिमानी पत्रकार निरौलासहित तीन जना सम्मानित

सन्तोष राउत २०७९ असार १६ गते १७:१२

सोलुखुम्बु । गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्व कीर्तिमान कायम गर्न सफल पत्रकार भानुभक्त निरौलासहित तीन जनालाई निरौला बन्धु सेवा समाज सोलुखुम्बुले सम्मान गरेको छ । 

विश्वकै लामो रेडियो अन्तरवार्ता लिएर कीर्तिमान बनाउनुभएका हिमाल एफएमका प्रबन्ध निर्देशक पत्रकार निरौला सहित जिल्ला समन्वय समिति सोलुखुम्बुका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद निरौला र सदस्य नारायणप्रसाद निरौलालाई सम्मान गरिएको हो ।

निरौलाहरूको प्राचीन थलोका रुपमा रहेको सल्यानमा आयोजित एक कार्यक्रममा निरौलाहरूबाट ऐतिहासिक सफलता प्राप्त गरेकाले सम्मान गरिएको जनाइएको छ । सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्दै नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले पालिकाले सबै जातजातिको भाषा र संस्कृति संरक्षणमा समान ढङ्गले काम गर्ने बताउनुभयो ।

त्यस क्षेत्रमा भारद्वाज ऋषिको सालिक निर्माणाधीन अवस्थामा रहेको छ । सम्मान ग्रहण गर्दै जिल्ला समन्वय समितिको प्रमुख निरौलाले जनप्रतिनिधिको रुपमा काम गर्न पाउँदा खुसी लागेको र जिल्लाका स्थानीय तहसँग अधिकतम समन्वय गरेर विकासका काम अघि बढाउने भूमिकामा प्रतिबद्ध रहेको बताउनुभयो ।

विश्व कीर्तिमानी पत्रकार निरौलाले सम्मानले आफूलाई थप हौसला मिलेको भन्दै जिल्लाको समग्र विकासका क्षेत्रमा सदैव कलम चलाउने बताउनुभयो । जिल्ला समन्वय समिति सदस्य नारायणप्रसाद निरौलाले जनताको मतलाई दुरुपयोग हुन नदिनेमा आफू सजक रहेको धारणा राख्नुभयो । 

सम्बन्धित