तपाईँ सुन्दै हुनुहुन्छः

अछाममा राष्ट्रिय धान दिवस मनाइयो (फोटोफिचर)

अछाम ।  ’धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ अछाममा राष्ट्रिय धान दिवस मनाइएको छ ।

१९ औँ राष्ट्रिय धान दिवसको अवसरमा अछामको मङ्गलसेन –३ मा आयोजित रोपाइँ कार्यक्रममा पूर्व मन्त्री तथा नेकपा एमालेका सचिव योगेश भट्टराईले किसानलाई उच्च सम्मान गर्दै उत्पादनलाई बढोत्तरी गर्ने योजना ल्याउन ढिलाइ गर्न नहुने बताउनुभएको छ ।

उहाँले किसान आफू खाई अरूलाई खुवाउने वर्ग भएकोले किसानको स्थान सबैभन्दा उच्च रहेको उल्लेख गर्नुभयो । सचिव भट्टराईले अहिले किसान मलखाद, बीउ विजन, सिँचाइ लगायतका आधारभूत कुराबाट वञ्चित हुनुपरेको औँल्याउनुभयो । सरकारले यो वर्ष समयमै मल ल्याउन नसक्दा किसान समस्यामा परेको बताउनुहुँदै उहाँले यसतर्फ सरकार छिटोभन्दा छिटो गम्भीर बन्नुपर्ने बताउनुभयो ।

अखिल नेपाल किसान महासङ्घ जिल्ला समिति अछामको आयोजनामा भएको धान दिवस कार्यक्रममा प्रतिनिधिसभा सदस्य अछाम क्षेत्र नम्बर २ का सांसद यज्ञ बहादुर बोगटीले किसानहरूले अहिले पनि आकासे पानीको भरमा रहनुपरेको, मल खादको अभावमा खेतीपाती गर्नुपरेको उल्लेख गर्नुभयो । 

मङ्गलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले नगरपालिका आफ्नो तर्फबाट  किसानका समस्या समाधान गर्न तयार रहेको भन्दै व्यवसायीक रूपमा कृषि गरेर उत्पादन बढाउनुपर्ने बताउनुभयो । नगरले किसानलाई राहत तथा प्रोत्साहनका विभिन्न कार्य गरिरहेको उहाँले बताउनुभयो।

रोपाइ  कार्यक्रममा किसान महासङ्घका पोलिटव्युरो सदस्य भीम जनाला, एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा,  सचिव भीम बहादुर रावल,,  मङ्गलसेन नगरपालिकाका उपप्रमुख सङ्गीता कुमारी रावल, कमलबजार नगरपालिकामा नगर उपप्रमुख शारदा कुँवर लगायतको सहभागिता रहेको थियो ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलको नेतृत्वमा धान रोपाइँ तथा धान दिवस कार्यक्रम पनि गरिएको हो । जिल्लाको साँफेबगर, मेल्लेख, चौरपाटी, ढकारी, विनायक, तुर्माखाँद लगायतका स्थानमा दिवसको अवसरमा कार्यक्रम गरिएको छ ।

लामो समयको खडेरीपछि असार १२ गतेदेखि मात्रै अछाम लगायत सुदूरपश्चिम क्षेत्रमा पानी पर्न सुरु भएको हो । खडेरीका कारणले कतिपय ठाउँमा किसानले बीउ समेत राख्न सकेका छैनन् । सुदूरपश्चिममा हालसम्म करिब ४० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button