तपाईँ सुन्दै हुनुहुन्छः

संरक्षित वन्यजन्तु गैँडा चोरीमा संलग्न रहेको आरोपमा फरार एक जना पक्राउ 

चितवन । संरक्षित वन्यजन्तु गैँडाको चोरी सिकारमा संलग्न रहेको आरोप लागेर फरार भएका एक जना पक्राउ परेका छन् ।  

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले चितवनको कालिका नगरपालिका वडा नं–९, शक्ति खोरका ४१ वर्षे रामकुमार प्रजालाई पक्राउ गरेको हो ।  

उनलाई अहिले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा ल्याउन लागिएको प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिनुभयो । 

“उनी संलग्न भएका गैँडासम्बन्धी धेरै मुद्दा दर्ता भएका छन्”, आचार्यले भन्नुभयो, “उनी लामो समयदेखि हाम्रो फरार सूचीमा थिए, अन्ततः उनी समातिएका छन् ।”

पक्राउ परेका प्रजा ठुलो कान्छा एवं सागर प्रजा भनिने विन्दरसिंह प्रजा समेत संलग्न भएको संरक्षित वन्यजन्तु गैँडा सिकार गरी त्यसको खाग (आखेटोपहार) राख्ने, खरिद र बिक्री तथा ओसारपसार गरेको मुद्दाका आरोपी हुन् । उनीहरू पक्राउ परेको ९ महिनापछि सिआइबीले रामकुमारलाई पक्राउ गर्न सफल भएको हो ।

उनीमाथि यसभन्दा पहिले २०६७ सालमा गैँडा चोरी सिकारी, खाग बिक्री वितरण र ओसारपसारको मुद्दा दर्ता भएको थियो । त्यसपछि पनि उनीविरूद्ध तीन वटा मुद्दा दर्ता भएर सजायको फैसला भएको थियो । फैसलाको १२ वर्षपछि उनी समातिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button