तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेस्थित राप्ती नदीमा पानीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

नेपालगञ्ज । बाँकेस्थित राप्ती नदीमा पानीको सतह बढ्दै गएको छ । 

गएरातिदेखि परेको अविरल वर्षापछि पानीको सतह बढ्दै गएका कारण स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

राप्ती नदीमा पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई सजग रहन सूचना जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनुभयो ।

नदीमा बाढी बढेकाले माछा तथा बगेर आएका काठ दाउरा छोप्न नदीमा पस्ने काम नगर्न प्रशासनले आग्रह गरेको छ ।

बाँकेमा १५० मिलिमिटर वर्षा मापन भएको छ । दिउँसो २ बजे राप्ती नदीमा पानीको सतह ४ दशमलव ०९९ मिटर रहेको छ । आज दिनभरि मध्यम वर्षात भइरहेकाले राप्ती नदीमा बाढीको सतह बढ्न सक्ने जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

कुसुमस्थित राप्ती नदीमा पानीको सतह पाँच मिटर रहे चेतावनीको सतह र ५ दशमलव ४ मिटर भए खतराको सतह मानिन्छ ।

राप्ती नदीमा खतराको सतहमा पानी भए डुडुवाको होलिया, चौफेरी, बेतहनी, कम्दी र राप्तीसोनारी गाउँपालिकाको बैजापुर, बिनौना, फत्तेपुर लगायत क्षेत्र डुबानमा पर्ने गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button