तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला वलीद्वारा पदबाट राजीनामा

रुपन्देही । लुम्बिनी प्रदेशका  स्वास्थ्य राज्यमन्त्री  विमला खत्री वलीले पदबाट राजीनामा दिनुभएको छ। 

राज्यमन्त्री वलीले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाउनुभएको हो । 

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले असार १२ गते ने उहाँले राजीनामा दिनुभएको र आज मुख्यमन्त्री कुलप्रसाद केसीले सदनलाई जानकारी दिने बताउनुभयो । 

जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर बस्नेतकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि उहाँ विवादित बन्दै आउनुभएको थियो । 

उहाँमाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि  त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । छानविन समितिले आज प्रतिवेदन सार्वजनिक गर्ने तयारी गरेको समितिका संयोजक तथा सरकारका प्रवक्ता तिलकराम शर्माले बताउनुभयो ।

उहाँका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ (ख) मा भएको उपनिर्वाचनमा वली तत्कालीन नेकपाबाट विजयी हुनुभएको थियो। फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोज्नुभएको थियो। त्यसपछि माओवादीले उहाँलाई स्वास्थ्य राज्यमन्त्री बनाएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button