तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा ६ महिनामा पाँचको हत्या, १४ को बलात्कार, ३४ द्वारा आत्महत्या

भक्तपुर । जिल्लामा विगत ६ महिनामा मानव अधिकार हननका २४० घटनासहित कूल ४७३ वटा घटना विभिन्न घटना घटेका छन् ।

सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुरले आयोजना गरेको अर्धवार्षिक पूर्व समीक्षा कार्यक्रममा २०२२ जनवरीदेखि जुनसम्म भक्तपुरमा भएका मानव अधिकार हननका घट्नाको सार्वजनिक गर्दै यस्तो जानकारी दिइएको हो ।

इन्सेक भक्तपुरले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो ६ महिनाको अवधिमा पाँच जनाको हत्या, तीन जनाको आफ्नै परिवारबाट हत्या, नौ जनाको हत्या प्रयास, १४ जनाको बलात्कार, दुई जनाको बलात्कार प्रयास, चार जना बहुविवाहको, एक जना मानव बेचबिखन तथा ओसारपसार र एक जना अपहरण उद्योगबाट पीडित भएका छन् ।

भक्तपुर जिल्ला अदालतमा सम्बन्ध विच्छेदका लागि १७४ जनाको मुद्दा दर्ता गराएकोमा १२१ जनाको सम्बन्ध विच्छेद भएको छ ।

यस अवधिमा ३४ जनाले आत्महत्या गरेका छन् । त्यस्तै बालबालिका, महिला, पुरुष गरी ११७ जना हराएकोमा ९३ जना भेटिएका छन् । सवारी दुर्घटनामा १५ जनाको ज्यान गएको छ भने दुई जना अङ्गभङ्ग भएका छन् ।

कार्यक्रममा महानगरीय पहरी परिसर भक्तपुरका प्रमुख शिवकुमार श्रेष्ठले अपराधको मुख्य कारक तत्त्व लागू औषधको कारोबार एवं दुर्व्यसनी र मदिरा सेवन नै रहेको बताउँदै यसलाई सरकारले कडाइका साथ नियन्त्रणको नीति लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल बार एसोसिएसन भक्तपुरका अध्यक्ष रवीन्द्र प्रधानले यातायात मजदुर, इँटा भट्टा, बालुवा तथा माटो खानी, श्रम क्षेत्रमा अपराधका घटना बढी हुने गरेको बताउँदै अधिकार प्रयोगका नाममा छाडा र दुरुपयोग भइरहेको औँल्याउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ भक्तपुरका अध्यक्ष नारायण न्यौपानेले अपराध नियन्त्रणमा गैससले अभियान नै सञ्चालन गरेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button