तपाईँ सुन्दै हुनुहुन्छः

पातारासी गाउँपालिकाको बजेट ४५ करोड : शिक्षा कृषि र सडक प्राथमिकतामा

जुम्ला । शिक्षा, कृषि, सडक र खानेपानी क्षेत्रलाई प्राथमिकता दिँदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रम पनि शिक्षा, कृषि, सडक र खानेपानीलाई प्राथमिकता दिएको पातारासीले बजेटमा पनि सोही अनुसार प्राथमिकता दिएको छ । 

असार १० गते पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले आगामी आव २०७९/८० का लागि अनुमानित ४५ करोड ५८ लाख १९ हजार बराबरको बजेट प्रस्तुत गरेको पातारासीका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद धितालले बताउनुभयो । 

उहाँले भन्नुभयो,“पातारासीको नवौँ गाउँसभा प्रस्तुत ४५ करोड बढीको बजेटले शिक्षा,कृषि,सडक र खानेपानीलाई प्राथमिकता दिएको छ । भने, अन्य क्षेत्रलाई आवश्यकताको आधारमा गाउँ बस्तीबाट माग भई आएका योजनामा बजेट छुटाइएको छ ।” आगामी आवको बजेट र नीतिले पातारासीको विकास निर्माण र सेवा प्रवाहलाई गति दिन इट्टा थप्ने धितालको विश्वास छ ।  

पातारासीको शिक्षा क्षेत्रको अपेक्षित विकास र उपलब्धि हुन नसकेको र अधिकांश बालबालिका जडीबुटी सङ्कलनमा आकर्षित हुने विद्यालय छोड्ने समस्या पातारासीमा अझै विद्यमान छ । विद्यालयमा बालबालिकाको पहुँच वृद्धि गर्न,शैक्षिक गुणस्तर हासिल गर्नका लागि पातारासीले शिक्षा क्षेत्रमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत धितालले उल्लेख गर्नुभयो । 

विगतमा निर्माण भएका सडकलाई पूर्णता दिन तथा नयाँ सडक निर्माण गर्न, कृषि क्षेत्रको उत्पादन वृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउन ठोस नीति सँगै बजेटका पनि प्राथमिकता दिएको पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोराले बताउनुभयो । उहाँका अनुसार भर्खर निर्वाचित भएर आएको हुनाले पनि नागरिकको अपेक्षा अनुसार चाहाना अनुसारको विकास गर्न तर्फ पातारासीका जनप्रतिनिधिको ध्यान केन्द्रित भएको छ ।  

बजेटले पातारासीका ७ वटै वडाको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सिचाई, पर्यटन तथा पूर्वाधार क्षेत्रको समानुपातिक विकासमा जोड दिएको पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले बताउनुभयो । महिला सशक्तीकरण, विपद् व्यवस्थापन, उत्पादन वृद्धिका क्षेत्रमा पनि जोड दिइएको छ । 

नयाँ जनप्रतिनिधिले वितरणमुखी भन्दा आवश्यकतामुखी विकास र बजेट विनियोजनमा जोड दिएर छिटो छरितो सेवा प्रवाह र दिगो विकासमा जोड दिने पातारासीबासीको आशा छ । नवौँ गाउँसभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेट माथि पातारासीले दफावार छलफल गरिरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button