तपाईँ सुन्दै हुनुहुन्छः

७९ वर्षीय डिल्लीराम रिजाल कृषिमा रमाउँदै

स्याङ्जा । सेतै फुलेको कपाल र अनुहारको चाउरीपनले डिल्लीराम रिजालको बुढ्यौली पुष्टि गर्छ । तर, उहाँको घर वरिपरि फुल्दै गरेका अकबरे खुर्सानी, तरकारी बाली र बाख्राहरू देख्दा लाग्दैन की उहाँलाई बुढ्यौली लागेको छ ।

वालिङ ६ पाखुरेका डिल्लीराम रिजाल उमेरले ७९ वर्ष पुग्नुभयो । तर, उहाँको जोस, जाँगर र मेहनत भने अझै पनि जवान देखिन्छ । २ रोपनीमा फुल्दै गरेका अकबरे खुर्सानी, खोरमा रहेका ७० बाख्राहरू र लटरम्म फलेका बोडी, सिमी देख्दा त्यहाँ पुग्ने जो कोहीलाई पनि अचम्म लाग्छ ।

रिजालले भन्नुभयो, ‘म दुई हजार साले हुँ । मैँले २०५५ सालदेखि नै व्यावसायिक टमाटर तथा कृषि खेती गरेको हुँ । अहिले पनि कृषि नै गरिरहेको छु ।’ उहाँले लगाउनुभएका अकबरे खुर्सानी साउनबाट बेच्नका लागि तयार हुन्छन् । २०७७ सम्म गोलभेँडा खेती नै गर्दै आउनुभएका रिजालले त्यसयता खुर्सानी लगाउनुभएको छ । अकबरे खुर्सानीका बोटले दुई वर्षसम्म फल दिन्छ ।

२०५५ सालमा भारतमा गर्दै आएको मासिक १० हजारको जागिर छाडेर आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने हेतुले कृषिमा आफ्नो जीवन बिताउनुभएका रिजाल व्यावसायिक कृषिमा लागेको २४ वर्ष पुगिसक्यो ।

जनयुद्धका बेला तत्कालीन सशस्त्र द्वन्दमा दुई छोरा गुमाउनुभएका रिजाल भारतबाट तरकारी आयात रोक्न सकियो भने यहाँका किसानले आफ्ना कृषि उपजको वास्तविक मूल्य पाउने बताउनुहुन्छ ।

उहाँका दुई छोराहरू १९ वर्षका दिपक रिजाल पाल्पाको ज्यामिरे र २१ वर्षका विनोद रिजाल कालिकोटमा सहिद बन्नुभएको थियो । रिजालले उक्त समयमा कृषि व्यवसायबाटै ४ छोरा र ४ छोरी गरी १० जनाको परिवारलाई पालनपोषण र शिक्षा दिनुभएको थियो ।

२०५२ सालमा वालिङ ६ कै बडहरेमा पहिरो जाँदा उहाँको घर खेत बगाएको थियो । त्यसपछि उहाँ आफ्नो जन्मथलो छाडी पाखुरेमा जग्गाजमिन किनेर बस्नुभएको हो । अहिले दुई छोराहरूले समेत बाबुकै कृषिको बागडोर सम्हालेका छन् । किसानको श्रमको सम्मान भएमा मात्रै देश समृद्ध बन्न सक्ने रिजाल बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button