तपाईँ सुन्दै हुनुहुन्छः

१२ वर्षमा बन्यो मणिग्राम–मोतीपुर जोड्ने पुल

रुपन्देही । निर्माण सुरु भएको १२ वर्षमा रुपन्देहीको तिलोत्तमास्थित मणिग्राम–मोतीपुर जोड्ने पुल बनेको छ । तिलोत्तमास्थित तिनाउ नदीमा निर्माण भएको पुल १२ वर्षपछि सञ्चालन भएको हो ।

बुद्ध सर्किट सडकमा पर्ने मणिग्राम–मोतीपुर जोड्ने उक्त पुल २५ असार २०६७ सालमा सम्झौता भई निर्माण सुरु भएको थियो । इन्जिनियरको गलत डिजाइनका कारण ६ वटा फाउन्डेसन रहने गरी डिजाइन गरिएको पुलका तीन वटा फाउन्डेसनमा चट्टान परेका कारण निर्माण रोकिएको थियो ।

गत वर्ष पुलको वैकल्पिक डिजाइन स्वीकृत भएपछि काम सुरु भएको थियो । सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले १२ वर्षमा पुलको काम सकिएको जानकारी दिनुभयो ।

शनिबार पुलको गृहमन्त्री बालकृष्ण खाणले उद्घाटन गर्नुभयो । गृहमन्त्री खाणले पुल अभावमा लामो समय समस्या झेलेका स्थानीयलाई सहज भएको बताउनुभयो । उहाँले प्राविधिक समस्याका कारण रोकिएका काम यसैगरी पूरा गर्ने बताउनुभयो ।

पुलको लम्बाई १८५ र चौडाइ ११ मिटर छ । त्यसमा दुवैतर्फ १ दशमलव ७५ मिटर फुटपाथ रहेको छ भने साँढे ७ मिटरको डबल लेनमा सवारी चलाउन सकिन्छ । पुल निर्माण सम्पन्न भएपछि मगर घाटमा हुने जाम कम हुने डिभिजन प्रमुख जयलाल मरासिनीले बताउनुभयो ।

पुल निर्माणपछि बुटवल उपमहानगरपालिका वडा नं. १७ र १८, शुद्धोदनको मानपकडी, मानमटेरियादेखि सूर्यपूरा, सियारीका स्थानीयलाई पूर्वी रुपन्देहीका मुख्य बजार आउन सहज र नजिक पर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button