तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले हेम्जाका चार घरमा क्षति, ६ सय घर डुबानमा (फोटो फिचर)

कास्की । पहिरोले पोखरा २५, हेम्जामा ४ घरमा पूर्ण क्षति भएको छ । वर्षामा आउने पानीको निकास नहुँदा सुइँ खेत क्षेत्र डुबानमा परेको हो । शुक्रवार रातिदेखि परेको अविरल वर्षाका कारण झन्डै ६ सय घर डुबानमा परेका छन् ।

पहिला धान खेत तथा खोला हिँड्ने सोतमा प्लटिङ गरेर घडेरी बनेपछि वर्षाको पानीले निकास नपाएको स्थानीय लिलाधर पौडेलले बताउनुभयो । ९० वर्षीय पौडेलले पानी जाने घाट मिचेका कारण यस्तो समस्या आएको बताउनुभयो ।

लगातारको वर्षाले सुइँ खेतको चौरासी नहर बढेर बस्तीतर्फ सोझिएको थियो । वरपरका खोल्साबाट बगेर आएको पानी समेतले फाँट डुबाएको हो ।

डुबानबाट सुइँ खेतको म्याग्दी चोक, सुन्दरपुरी चोकका झण्डै ६ सय घर प्रभावित भएको वडाध्यक्ष मोतीप्रसाद तिमिल्सिनाले बताउनुभयो । उहाँका अनुसार स्थानीयलाई राति नै उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । अहिले पनि वर्षाका कारण पानीको निकास हुन नसकेको उहाँले बताउनुभयो ।

लगातारको वर्षापछि सुन्दरपुरी चोकमा आएको पहिरोले लक्ष्मी विक र रिभना विकको घर पुरेको छ भने १५ घरमा सामान्य क्षति बनाएको स्थानीय लिलाधर पौडेलले जानकारी दिनुभयो ।

राति ११ बजेदेखि नै घरहरू डुबानमा परेपछि त्यहाँका मानिसहरू आफन्त र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको वडाध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button