तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतका स्थानीय तहको बजेट: कृषि क्षेत्र प्राथमिकतामा

पर्वत । पर्वतका एक स्थानीय तह बाहेक अन्य ६ स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।

फलेवास नगरपालिकाले विवादका कारण बजेट ल्याउन सकेन । कुश्मा नगरपालिका सहित ४ गाउँपालिकाले भने शुक्रवार नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् ।

स्थानीय तहको बजेटमा कृषि क्षेत्रको विकास प्राथमिकतामा छ । कुश्मा नगरपालिकाले आत्मनिर्भर कुश्मा नगरपालिका बनाउन मकै वाली पकेट विकास कार्यक्रम, तरकारी वाली पकेट कार्यक्रम, रैथाने वाली प्रवर्द्धन कार्यक्रम, व्यावसायिक कागती खेती र केरा खेती कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ ।

कृषिमा १ करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । मोदी गाउँपालिका उन्नत कृषिबालीको कार्यक्रम लाई प्राथमिकतामा राखेको छ । किसानलाई आधुनिक खेती प्रणालीमा प्रेरित गर्ने, बाँझो जमिनमा खेती गर्ने, कृषि एम्बुलेन्स सञ्चालन गरी बजारीकरणमा सहयोग गर्ने मोदीको योजना रहेको छ ।

नमूना प्राङ्गारिक कृषि गाउँ घोषणा, तरकारी, मासु, दूध र अण्डामा गाउँपालिकालाई आत्मनिर्भर बनाउने योजनाका साथ मोदीले गाउँमा कृषि मार्फत आत्मनिर्भर र रोजगारी सृजना गर्ने जनाएको छ ।

महाशिला गाउँपालिकाले विगत जस्तै उत्पादनको आधारमा अनुदान दिने कार्यक्रम तय गरेको छ । हावापानी अनुकूलको नयाँ खेतीको सुरु गर्ने, एक वडा एक कृषि उद्यम सञ्चालन गर्ने महाशिलाको योजना रहेको छ ।

जलजला गाउँपालिकाले १ करोड ७० लाख रुपैयाँ कृषिका लागि विनियोजन गरेको छ । गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यका अनुसार भौगोलिक क्षेत्र, हावापानी, माटो र वातावरण अनुकूलको उच्च प्रतिफल दिने कृषि बाली तथा पशुपन्छी पालनको सम्भाव्यता अध्ययनबाट ठाउँ सुहाउँदो उत्पादनलाई प्रवर्द्धन गर्न पकेट क्षेत्र कार्यक्रम गरिनेछ ।

गाउँपालिकाभित्र उत्पादन हुने विभिन्न ताजा तरकारी आलु, धान, मकै तथा बेमौसमी तरकारी, फलफूल लगायतका फसलको उत्पादन वृद्धिका लागि ब्लक, पकेट क्षेत्र अध्ययन गरी विभिन्न कृषि उपज उत्पादन कार्यक्रम सञ्चालनमा ल्याइने अध्यक्षले नीति तथा कार्यक्रममा उल्लेख गरेका छन् ।

४२ करोड ४७ लाख ६४ हजार ५ सयको बजेट ल्याएको पैयुँ गाउँपालिकाले बाँझो रहेको जमिनको उपयोग गर्ने नीति लिएको छ ।

विदेशबाट फर्किएका युवालाई कृषिमा लगाउने विशेष प्याकेजका कार्यक्रम पैयुँको नीति तथा कार्यक्रम र बजेटमा समेटिएको अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिनुभयो ।

बिहादी गाउँपालिकाले पनि विगतमा भएका लोकप्रिय कार्यक्रमहरू लाई निरन्तरता दिँदै कृषिका नयाँ योजना ल्याएको छ । बिहादी गाउँपालिकाका सूचना अधिकारी हरिप्रसाद भुसालका अनुसार गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि कृषि एम्बुलेन्स, भकारो सुधार, उन्नत जात तरकारी तथा पशुपालन विकास कार्यक्रमलाई जोड दिइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button