२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

खिवाङ सिँचाई आयोजना अलपत्र

रेडियो नेपाल २०७९ असार १० गते ९:२४

म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ को खिवाङ सिँचाइ आयोजना अलपत्र परेको छ ।

चालु आर्थिक वर्षमा रु ५० लाख बजेट विनियोजन भएको आयोजनाको निर्माण व्यवसायीले काम नगरेपछि ठेक्का सम्झौता तोडिएको छ । सम्झौताको म्याद सकिने अवधिसम्म कार्यान्वयन नभएपछि ठोक्का रद्द गरी बजेट फिर्ता भएपछि कृषक मर्कामा परेका छन् ।

अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पत्राचार र फोनमार्फत ताकेता गर्दा पनि निर्माण व्यवसायीले काम सुरु नगरेपछि ठेक्का तोडिएको बताउनुभयो ।

“२०७९ असार ७ गतेसम्मको म्याद भएको आयोजना निर्माणनै सुरु नगरेका निर्माण कम्पनीको जमानत फिर्ता गर्न बैंकलाई पत्र पठाएका छौँ,” उहाँले भन्नुभयो “सार्वजनिक खरिद ऐनमा उल्लेखित व्यवस्था र कार्यपालिकाको जेठ ३० गतेको बैठकको निर्णयअनुसार निर्धारित समयमा काम गर्न नसकेकाले ठेक्का तोडिएको हो ।”

गत वर्ष फागुन ८ गते दाङको घोराही उपमहानगरपालिका–१६ को सुकृत निर्माण सेवाले कर र पीएससहित रु ३४ लाख ४६ हजार ७४६ मा सो सिँचाइ आयोजनाको ठेक्का सम्झौता गरेको थियो । सो योजनाका लागि गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ससर्त शीर्षकमा रु ५० लाख विनियोजन गरेको थियो ।

प्रतिस्पर्धामार्फत ठेक्का पाएको सो कम्पनीले हालसम्म कुनै पनि काम नगरेको गाउँपालिकाका इञ्जिनियर ईश्वरबहादुर भण्डारीले बताउनुभयो । सुकृतको जमानत बसेको हिमालयन बैंक लिमिटेडलाई रु चार लाख ९३ हजार जमानत गाउँपालिकाको खातामा जम्मा गर्न यही असार १ गते पत्राचार गरिएको हो ।

गत वर्ष फागुन ८ गते कार्यादेश पाएको निर्माण कम्पनीलाई गाउँपालिकाले गत वर्ष चैत २८, यही वैशाख १४, जेठ ४, १२ र २३ गते पत्रमार्फत ताकेता गरेको थियो । पाइपलाइन, इन्टेकलगायतका संरचना बनाएर खिवाङको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने उद्देश्यले बजेट विनियोजन भएको योजना काम नै सुरु नभई फ्रिज हुदाँ कृषकहरु निराश बनेका वडाध्यक्ष रामबहादुर खड्काले बताउनुभयो ।

दुई सय घरधुरीको ५०० रोपनीभन्दा बढी जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको थियो । निर्माण व्यवसायीको लापरबाहीले बजेट विनियोजन भएको योजना कार्यान्वयन नहुने र कृषकहरुले सिँचाइ अभावको समस्या भोग्नुपर्ने दुखद् अवस्था आएको वडाध्यक्ष खड्काले बताउनुभयो ।

खिवाङ आलु र तरकारी खेतीको पकेट क्षेत्र हो । मकै र कोदो खेती हुने खिवाङको मुनिरहेको घारको फाँटमा धानबाली हुन्छ । सिँचाइ सुबिधा नहुँदा त्यहाँका कृषकहरुलाई खेतीबाली लगाउन समस्या भएको छ ।

सम्बन्धित