तपाईँ सुन्दै हुनुहुन्छः

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको बजेट ३७ करोड ५४ लाख बढी

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकता दिदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ ।

पालिका अध्यक्ष विजय वनेमले आगामी आर्थिक वर्ष २०७९/८० का लागि बिहीबार ३७ करोड ५४ लाख २२ हजार रुपियाँको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन ।

पालिकाले ११ औँ गाउँसभा तथा अधिवेशन आयोजना गर्दै आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रममा स्वास्थ्य, शिक्षा र कृषिलाई प्राथमिकतामा राखिएको हो । गुणस्तरीय शिक्षाका लागि मैवाखोला माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रूपमा स्तर वृद्धि र पालिकाका सबै विद्यालयमा प्रभावकारी शिक्षण गर्ने नीति अघि सारिएको छ । यस्तै स्वास्थ्यतर्फ पालिकाभित्रै चिकित्सक उत्पादन गर्ने गरी स्वास्थ्य नीति गाउँपालिकाले ल्याएको छ ।

कृषिलाई प्राथमिकता दिँदै अर्ग्यानिक पालिकाका रूपमा स्थापित गर्ने गरी कृषि नीतिलाई जोड दिइएको छ । यता गुराँसको राजधानी मानिने क्षेत्र रहेको पालिकामा पर्यटन क्षत्रेको विकासमा पनि जोड दिइएको छ ।

सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन गर्ने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम बनाएको गाउँपालिका उपाध्यक्ष कमलकुमारी लिम्बूले जानकारी दिनुभयो ।

यता ताप्लेजुङका नौ वटा स्थानीय तहमध्ये मैवाखोलाले एक दिन अघि नै आफ्नो बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको हो । नौ पालिका रहेको जिल्लाको आठ पालिकामा फुङ्लिङ आज बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको पालिकाहरूले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button