तपाईँ सुन्दै हुनुहुन्छः

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु देखियो

फाइल तस्बिर

कर्णाली । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । 

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो । 

एक सय बढी टर्की मरेपछि परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको थियो । पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो । 

बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।

पशुपक्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटरसम्म क्षेत्रमा पालिएका पक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ । 

बर्डफ्लु फैलिएको फर्ममा साना ठूला गरी करिब एक हजार ५०० बढी टर्की छन् । 

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो ।

 उहाँले भन्नुभयो, “आफूले पालेको पक्षीमा शङ्कास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौँ ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button