तपाईँ सुन्दै हुनुहुन्छः

मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादको योगदान महत्त्वपूर्ण : अध्यक्ष ओली

File Photo

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टङ्कप्रसाद आचार्यले तत्कालीन समयमा छर्नुभएको पर्चाले नेपालको राजनीतिक जागरण र परिवर्तनमा महत्त्वपूर्ण योगदान दिएको बताउनुभएको छ । 

टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको विसं १९९७ असार ९ गते राणा शासनविरुद्ध छरिएको पहिलो पर्चा र विसं २००८ असार ३ गते गठन भएको ‘जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल’ विषयक संवाद कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो । 

“मुलुकमा परिवर्तन ल्याउन टङ्कप्रसादले छर्नुभएको पर्चाको योगदान महत्त्वपूर्ण रहेको छ”, उहाँले भन्नुभयो । आचार्यले गठन गर्नुभएको नेपाल प्रजा परिषद् नेपाली धर्ती र नेपाली विचारबाट बनेको संस्था रहेकोसमेत उहाँले बताउनुभयो ।

उहाँले टङ्कप्रसाद आचार्यको विचार र सङ्गठनले विसं २००७ को क्रान्ति भएको धारणासमेत व्यक्त गर्नुभयो । “टङ्कप्रसाद आचार्यलाई २००७ सालको क्रान्ति लगत्तै मुलुकको नेतृत्व दिइन्थ्यो भने उहाँले परिकल्पना गर्नुभएको मुलुक बन्दथ्यो”, उहाँले भन्नुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष ओलीले उद्देश्यलाई जीवित राखेर कम्युनिष्ट पार्टीको नाम परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, “देश ठूलो हो, देशका लागि हामीले काम गर्ने हो, हाम्रा उद्देश्य समृद्ध नेपाल र सुखी नेपाली हुनुपर्दछ ।”

उहाँले प्रजा परिषद् नामेट पार्न एमालेमा गाभेको नभई उद्देश्यलाई अमर राख्नका लागि एकता गरिएको बताउनुभयो । “प्रजा परिषद्का उद्देश्य अमर रहेका छन् । ती बाँचिरहन्छन्”, उहाँले भन्नुभयो । प्रतिष्ठानका अध्यक्ष सुशील प्याकुरेलले टङ्कप्रसाद आचार्यले छर्नुभएको पर्चाले मुलुकमा राजनीतिक जागरण आएको बताउनुभयो ।

टङ्कप्रसाद आचार्यले राणा शासनको विरोधमा विसं १९९७ असार ९ गते भोटो देखाउने जात्राका दिन चार वटा पर्चा छर्नुभएको थियो । सोही दिनको सम्झनामा पर्चा दिवस मनाउने गरिन्छ । 

यसैबीच सोही कार्यक्रममा अरविन्द रिमाल र डा महेश्वर शर्मालाई जनताको जातीय जनतान्त्रिक संयुक्त मोर्चा नेपाल गठनमा पुर्याएको योगदान स्वरूप सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button