तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन (पहिलो संशोधन) विधेयक दफावार छलफलका लागि समितिमा  

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । 

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । 

यस्तै बैठकमा वन तथा भूसंरक्षण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टीच्युटको (जिजिजिआई) सहभागितामूलक सदस्यका रुपमा नेपाललाई सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता प्रस्तुत गर्नुभएको थियो । 

त्यसैगरी प्रधानमन्त्रीका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।

यसअघि शून्य समयमा बोल्नुहुँदै सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्नुभएको थियो ।

सांसदहरू समिना हुसेन र लक्ष्मीकुमारी चौधरीले पेट्रोलियम पदार्थको मूल्य वृद्धिले श्रमिक र निम्न आय भएका वर्गहरूको चुलो नबल्ने अवस्था सिर्जना भएको भन्दै पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गर्नुभयो ।

यस्तै सांसद लक्ष्मी परियार र लालप्रसाद सावाँ (लिम्बु)ले वर्षायाम सुरु भएसँगै  नदी छेउ र बाढी प्रभावित क्षेत्रका बासिन्दामा डर र त्रास फैलिएको भन्दै सम्भावित क्षति न्यूनीकरणका लागि विपद् व्यवस्थापनको प्रतिकार्य रणनीति बनाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराउनुभयो । 

सांसद लालबाबु पण्डित र विना कुमारी श्रेष्ठले आधारभूत रुपमा पाउनुपर्ने नागरिकता नपाउँदा जनताले सास्ती खेप्नु परेको भन्दै छिटोभन्दा छिटो नागरिकता विधेयक संसद्बाट पारित गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक असार १२ गते आइतबार दिनको १ः०० बजे बस्नेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button