तपाईँ सुन्दै हुनुहुन्छः

आसन्न निर्वाचनबाट माओवादी मुलुक कै दोस्रो ठूलो दल बन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी केन्द्र पहिलो वामपन्थी शक्ति बन्ने बताउनुभएको छ ।  

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले माओवादी केन्द्र आसन्न निर्वाचनबाट देशकै दोस्रो ठूलो पार्टी बन्ने बताउनुभयो । 

उहाँले त्यसका लागि आजैदेखि सङ्गठन विस्तार र पार्टी सुदृढीकरणका लागि लाग्न आग्रह गर्दै आफै खट्ने र मेहनत गर्ने कुरा महत्त्वपूर्ण हुने बताउनुभयो । 

अध्यक्ष प्रचण्डले स्थानीय तहमा सोचेजस्तो परिणाम आउन नसके पनि अनिश्चितताकाबीच भएको निर्वाचनले माओवादीको जित नै भएको बताउनुभयो । 

अनिश्चितताकाबीच भएको निर्वाचनले सङ्घीय लोकतन्त्र, धर्म निरपेक्ष, र समावेशी समानुपातिक प्रतिनिधित्व प्रणाली नरुचाउने शक्तिलाई पराजित गरेको भन्दै संविधानको रक्षा नै महत्त्वपूर्ण भएको बताउनुभयो । 

उहाँले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै अबको निर्वाचनमा गठबन्धन भए÷ नभए जे भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताउनुभयो ।   

उहाँले माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।    

अध्यक्ष प्रचण्डले लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने भन्दै आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवारहरूको टुङ्गो लगाइसक्ने बताउनुभयो । 

कार्यक्रममा माओवादी नेतृ एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्यहरु, वाग्मती प्रदेश अध्यक्ष सरल सहयात्री, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिनिधिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा (एमाले) नेता नवराज राई र वरिष्ठ मुटु रोग विशेषज्ञ डा कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गर्नुभयो ।     

प्रतिक्रिया राख्नुहोस्

Back to top button