२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइयो

दीपक शर्मा २०७९ असार ९ गते १४:२४

सल्यान । सल्यानमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका घर टहरा हटाइएको छ । 

डिभिजन वन कार्यालय सल्यानले कपुरकोट गाउँपालिका–३ को बजार क्षेत्रमा १० वर्षदेखि वन क्षेत्र अतिक्रमण गरी बनाएका ९ वटा घर टहराहरू हटाएको हो ।

काफलनेटी सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरी निर्माण गरिएका घर टहरालाई सशस्त्र वन रक्षकको टोली परिचालन गरी हटाइएको डिभिजन वन कार्यालय सल्यानले जनाएको छ   ।

कार्यालयबाट पटक पटक जग्गा खाली गर्नको लागि सूचना टाँस गरे पनि स्थानीयले अटेर गरेपछि  बाध्य भएर सुरक्षाकर्मीको सहयोग लिएर टहरा भत्काएको डिभिजन वन कार्यालय सल्यानका प्रमुख रमेश कुमार गिरीले बताउनुभयो । 

पटक पटक सूचना निकाले पनि बेवास्ता गरेपछि वन संरक्षणका लागि प्रहरी, प्रशासन र कपुरकोट गाउँपालिकाको सहकार्यमा सामुदायिक वनमा अतिक्रमण गरी बनाएको टहरा भत्काइएको गिरीको भनाई छ । 

राप्ती राजमार्गको छेवैमा रहेको र हाल काफलनेटी सामुदायिक वनको स्वामित्वमा रहेको सामुदायिक  वनको  जग्गा  मासिने खतरा बढेकाले सुरक्षाकर्मी तथा डोजर प्रयोग गरेर टहरा भत्काएको उहाँले बताउनुभयो ।

बि.स २०७० साल अघि विद्यालयले उक्त जग्गा खारेर टहरो बनाई ३ वर्ष विद्यालय सञ्चालन गरेको थियो । विद्यालय नयाँ भवनमा सरेपछि केही आर्थिक सङ्कलन हुने नाममा मासिक १० हजार भाडामा विद्यालयले जागेश्वर गिरीलाई होटेल व्यवसाय गर्न अनुमति दिएको थियो । गिरीले होटेलसँगै बाँकी अन्य टहरा निर्माण गरी अरूलाई भाडामा लगाएका थिए । 

विद्यालयले भाडामा दिएपछि २०७० देखि होटेल व्यवसाय गर्दै आएको जागेश्वर गिरीले बताउनुभयो  । कालिका मा.वि. कपुरकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मीनबहादुर सेनले सामुदायिक  वनको  जग्गा संरक्षणका लागि स्थानीयले बैठक बसेर विद्यालयलाई जिम्मा दिएको र अरू कसैले अतिक्रमण गरी दुरुपयोग नगरोस् भनी जागेश्वर गिरीलाई भाडामा दिएको बताउनुभयो  ।

जिल्लाका अन्य क्षेत्रमा पनि क्रमैसँग कानुन अनुसार वन क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरू हटाउँदै जाने समेत डिभिजन वन प्रमुख गिरीले बताउनुभयो   ।

सम्बन्धित