तपाईँ सुन्दै हुनुहुन्छः

भोलिबाट धनुषामा ५ देखि ११ वर्षका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने

जनकपुरधाम । धनुषा जिल्लामा भोलिबाट ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई फाईजर वायोएनटेक कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धनुषाले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण तथा सूक्ष्म योजना तर्जुमा कार्यक्रममा खोप अधिकृत राजदेव यादवले यस अघि १२ वर्ष भन्दा माथिका बालबालिकाहरूलाई सफलतापूर्वक कोरोना विरुद्धको खोप दिने काम भएको जानकारी दिनुभयो ।

धनुषाका १ लाख १३ हजार ८ सय ९५ उक्त उमेर समूहका बालबालिकाहरूलाई १ हजार २ सय ४० खोप केन्द्रबाट एक साथ खोप दिने र कार्यक्रम असार १३ गतेसम्म चल्ने भएको छ ।

यसका लागि २ हजार ४ सय ८० स्वयंसेवक परिचालन गर्नुका साथै खोपका लागि स्वास्थ्यकर्मीको प्रशिक्षण सहितको कार्यक्रम सम्पन्न भएको छ । यस अघिको खोपहरू घोलिएका अवस्थामा रहने गरेकोमा ५ वर्षदेखि ११ वर्षसम्मका बालबालिकालाई दिने खोप घोलेर दिनुपर्ने भएकाले अन्य खोप भन्दा फरक भएको जानकारी कार्यालय प्रमुख युगल किशोर यादवले दिनुभयो ।

यस खोपमा बालबालिकाहरूलाई ०.२ एम एल खोप दिने भएकाले विगतको खोप भन्दा फरक रहेको जानकारी दिइएको थियो । यसका लागि स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षित बनाई सकेकाले निर्धक्क भएर आ–आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावहरूसँग आग्रह गरिएको छ ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई धनुषाका समन्वय अधिकारी युक्त प्रसाद शर्माले कोरोना विरुद्धको खोप बालबालिकाका लागि उपयोगी भएकाले शिक्षा कार्यालयले सबै प्रकारको सहयोग गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button