२०७९ साल असार १८ गते शनिबार

तपाईँ सुन्दै हुनुहुन्छः

दुर्व्यवहार गरिएको भन्दै सुनसरीको बर्जु गाउँपालिकाको कर्मचारी आन्दोलित

आशिष कुमार यादव २०७९ असार ८ गते १६:१४

सुनसरी । दुर्व्यवहार गरिएको भन्दै सुनसरीको बर्जु गाउँपालिकाको कर्मचारी आन्दोलित भएका छन् ।

कार्यालयभित्र दुर्व्यवहार गरिएको विषयलाई लिएर बर्जु गाउँपालिकाका कर्मचारीले आज बुधवारबाट कामकाज ठप्प पारेका छन् । 

सुरक्षाको प्रत्याभूति नभएको भन्दै कामकाज ठप्प पार्न बाध्य भएको कर्मचारीहरूले अत्यावश्यक बाहेकका अन्य कुनै पनि सेवा प्रवाह नगरिने र गाउँपालिकाको कार्यालयले विज्ञप्ति जारी गर्दै अनिश्चित अवधिसम्म सेवा ठप्प रहने जनाएको हो । 

साझा प्रतिबद्धता सहित कर्मचारी हकहित र सुरक्षाको प्रत्याभूति नभएसम्म अत्यावश्यक बाहेकका सबै कामकाज अनिश्चितकालका लागि ठप्प पार्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत प्रमोद कुमार चौधरीले बताउनुभयो ।

विज्ञप्तिमा कर्मचारीमाथि भएको दुर्व्यवहारको भर्त्सना गरिएको छ । विज्ञप्तिमा कार्यालयभित्र आक्रोशित भिड प्रवेश गरी कर्मचारीलाई नियन्त्रणमा लिई अभद्र व्यवहार गरिनु खेदजनक भएको र जसले गर्दा शान्तिपूर्ण तवरले काम गर्ने वातावरणमा खलल पुग्नुका साथै शान्ति सुरक्षामा चुनौती बढाएको छ ।

विज्ञप्तिमा स्टोर कोठामा राखिएको कृषि मोटर कोठा व्यवस्थापनका क्रममा सुरक्षित स्थानमा स्थानान्तरण गरी राखिएको विषयलाई कर्मचारीले चोरी गरेको भनी आरोप लगाइनु दुःखद् भएको उल्लेख छ । सो विज्ञप्तिमा आरोप नै पुष्टि नभई आक्रोशित भीड कर्मचारीउपर जाइलागेको र प्रहरी आएर पक्राउ गरी लग्दासमेत जनप्रतिनिधिहरूले वास्ता नगरेको विषयलाई अभिभावक विहीनको अवस्था सिर्जना हुन पुगेको बताइएको छ ।

गाउँपालिकाभित्रका कर्मचारीको आन्दोलनमा पालिकाभित्रका सबै शिक्षक, कर्मचारीलगायतले ऐक्यबद्धता जनाएका छन् । सो अनुसार आज बुधवारबाट विद्यालयका शिक्षक तथा कर्मचारीले कालोपट्टी बाँधी पेन डाउन जस्ता कार्यक्रम गरेका छन् ।

कर्मचारीहरूको बैठकले आरोप लगाइएका कर्मचारीउपर आन्तरिक छानबिन हुने र दोषी पाइए कानून बमोजिम कारबाहीको प्रक्रिया अघि बढाइनेसमेत निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चौधरीले बताउनु भयो ।

यता गाउँपालिका अध्यक्ष जीवछकुमार रायसमेतले विज्ञप्ति जारी गर्दै घटनाका सम्बन्धमा छानबिन गरी १५ दिनभित्र सत्य–तथ्य बाहिर ल्याउने बताएका छन् ।

गाउँपालिकाको तर्फबाट विज्ञप्ति जारी गरेका अध्यक्ष रायले गाउँवासी समक्ष झुटा प्रचारबाजी र भ्रामक समाचारको विश्वास नगर्न आग्रह गरेका छन् । उनले विज्ञप्तिमा व्यक्तिगत चरित्र हत्या र संस्थागत बदनामी नगराउन गाउँवासी समक्ष आग्रह गर्दै कर्मचारी उपर भएको घटना प्रति दुःख समेत व्यक्त गरेका छन् ।

सम्बन्धित