तपाईँ सुन्दै हुनुहुन्छः

बहुविवाह गर्न खोज्ने युवक प्रहरी नियन्त्रणमा

सप्तरी । सप्तरीको विष्णुपुर गाउँपालिका ५ बाट बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्थानीय राजेन्द्र मण्डलका छोरा फुलदेव कुमार मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो । भारतको मधुवनी आराहा भन्ने स्थानमा दोस्रो विवाहका लागि जन्ती जान तयारी गरेको अवस्थामा मण्डललाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

मण्डललाई जिल्ला प्रहरी कार्यालय सप्तरीको हिरासतमा राखी अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो ।

प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार मण्डलका पत्नी काजल कुमारीले श्रीमानले दोस्रो विवाह गर्न खोजेको आरोप लगाएकी हुन् । उनले श्रीमानसँगै ससुरा ६५ वर्षीय राजेन्द्र मण्डल, सासू ६० वर्षीय चनरवती देवी मण्डललाई विपक्षी बनाई जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखामा निवेदन दर्ता गराएकी छिन ।

छिन्नामस्ता गाउँपालिका–६ माइती भएकी काजलको २०७३ वैशाख १५ गते सामाजिक परम्परा अनुसार फुलदेवसँग विवाह भएको थियो । दाइजो कम ल्याएको भन्दै श्रीमान्, सासू , ससुराले कुटपिट गरी यातना दिएपछि २०७६ मङ्सिर २८ गतेदेखि उनी नाबालिका छोरीसँगै माइतमा बस्दै आएकी थिइन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button