तपाईँ सुन्दै हुनुहुन्छः

‘गुणस्तरीय शिक्षाको पहुँच पुर्‍याउन सरकार र गैह्र सरकारी सङ्घ–संस्थाबीच सहकार्य हुनुपर्छ’

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबै नागरिकमा गुणस्तरीय शिक्षाको पहुँच पुर्‍याउन सरकार र गैह्र सरकारी सङ्घ–संस्थाहरू बीच सहकार्य हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार वितरण’ कार्यक्रममा राष्ट्रपति भण्डारीले शिक्षाको गुणस्तर सुधारका लागि सबै सरोकारवाला निकायहरूले एकिकृत प्रयास गर्नुपर्ने बताउनुभयो ।

फाइल तस्बिर

राष्ट्रपति भण्डारीले शिक्षालाई विकासका पूर्वाधारको पनि पूर्वाधारका रुपमा लिँदै देश विकास लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न ध्यान दिनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले निर्धारित समयभित्र दिगो विकासका लक्ष्यहरू हासिल गर्न तथा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा जनाएका प्रतिबद्धताहरू पुरा गर्न समेत शिक्षाको गुणस्तर सुधारका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा शिक्षामन्त्री देवेन्द्र पौडेलले सार्वजनिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री पौडेलले संसदमा पेश भएको आगामी आर्थिक वर्षको बजेटमा सार्वजनिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न तथा उच्च शिक्षा हासिल गर्न र युवा जनशक्ति विदेश पलायन हुने अवस्था अन्त्य गर्न विशेष कार्यक्रमहरू ल्याइएको पनि बताउनुभयो ।

सो अवसरमा शिक्षा क्षेत्रमा क्रियाशील गैरसरकारी संस्था रिड नेपाल र कंकाली माध्यमिक विद्यालय चन्द्रागिरि काठमाडौँलाई ५/५ लाख रुपैयाँ तथा शिक्षक मासिक पत्रिकालाई २ लाख रुपैयाँ नगद सहितको दिगो विकासका लागि जीवन विकास पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी कार्यक्रममा जनज्योति मावि सिन्धुली, आदर्श मावि झापा, नारी विकास सङ्घ विराटनगर र बालविकास संस्था लालबन्दीलाई १/१ लाख नगद सहितको प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button