२०७९ साल असार २० गते सोमबार

तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

भुवनप्रसाद आचार्य/बालिका मादेन २०७९ जेठ १४ गते २१:१९

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ ।

आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई निर्णयार्थ पेश गर्नु भएपछि बहुमतले नीति तथा कार्यक्रम पारित गरेको हो ।

त्यसअघि नीति तथा कार्यक्रम माथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले कृषि क्षेत्रलाई मुलुकको आर्थिक विकासको संवाहकको रुपमा अघि बढाउने नीति लिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले मुलकको अर्थतन्त्रमा देखिएका समस्याहरूको समाधानका लागि सरकारले नीति र कार्यक्रममा दिगो विकास, पर्यावरण, सुशासन तरलताको व्यवस्थापन, ऊर्जा र पर्यटन क्षेत्रको विकास जस्ता विषयलाई विशेष जोड दिएको बताउनुभयो ।

प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रम मार्फत सरकारले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई अघि बढाउने, शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुङ्गो लगाउने पनि बताउनुभयो ।

सांसदहरुले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री देउवाले किसानहरूलाई आवश्यक पर्ने मल समयमा उपलब्ध गराउन पूर्वाधारहरूको व्यवस्थापन र जनतालाई सहज सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

प्रधानमन्त्री देउवाले हालै सम्पन्न निर्वाचन समग्रमा शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न भएको भन्नुहुँदै यस कार्यमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले निजगढ विमानस्थलका सम्बन्धमा सर्वोच्च अदालतको फैसला र विज्ञहरूसँग छलफल गरेर अघि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्नुहुँदै सीमा समस्या कूटनीतिक संवादको माध्यमबाट समाधान गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।

आफ्नो भारत भ्रमणको क्रममा ऊर्जा व्यापार सम्बन्धमा दुई पक्षीय छलफल भई वक्तव्य मात्र जारी भएको र त्यस क्रममा कुनै पनि सम्झौता नभएको समेत प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो ।

त्यसै गरी आजको बैठकमा अर्थमन्त्री जर्नादन शर्माले आर्थिक बर्ष २०७८/७९को आर्थिक सर्वेक्षण, सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०७९, मन्त्रालयगत प्रगति र विवरण बैठक समक्ष प्रस्तुत गर्नुभएको थियो ।

सम्बन्धित