तपाईँ सुन्दै हुनुहुन्छः

एकआपसमा खेल्दा चक्कु रोपिएर विद्यार्थीको मृत्यु

बाँके । नेपालगन्जको फुलटेक्रामा सञ्चालनमा रहेको मदरसा फैजाने मदिनामा अध्ययन गर्दै आएका दुई विद्यार्थी एक आपसमा खेल्दा खेल्दै एकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मधुसूदन न्यौपानेका अनुसार मदरसामा अध्ययन गर्दै आएका कास्की रुपाकोट–६ का १६ वर्षीय जामुदिन मियाँको छातीमा चक्कु रोपिएर मृत्यु भएको हो । गम्भीर घाइते भएका मियाको उपचारको क्रममा ज्यान गएको हो ।

गत जेठ १२ गते साँझ ५ बजे भएको घटना अनुसार मृतक मियाँ र सिराहा मिर्चैयाका १२ वर्षीय मो.आशिक एक आपसमा खेल्दै गर्दा आशिकले समातेको चक्कु मियाँको देब्रे छातीमा मुटुमै रोपिन गई गम्भीर घाइते भएका थिए ।

प्रहरीका अनुसार मदरसाले उपलब्ध गराएको सिसिटिभी फुटेजमा दुवै जनाले छातीले एक अर्कालाई धकेला धकेल गर्दै गर्दा मियाँलाई आशिकले देब्रे छातीमा चक्कु रोपेको देखिएको छ । खेल्दै गरेका विद्यार्थीका हातमा चक्कु कसरी पुग्यो वा पहिला नै योजनाबद्ध भएको घटना हो प्रहरीले अनुसन्धानकै क्रममा रहेको जनाएको छ ।

उपचारको लागि भारतको लखनउ पुर्‍याइएका मियाको जेठ १३ गते राती १० बजे मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button